रीना सुब्बाको नवीनतम उपन्यास ‘परिवर्तित अनुहार’ पढेपछि
– रतन छेत्री, लण्डन (बेलायत)
दशैँअघि रीना सुब्बाद्वारा लिखित संस्मरणरुपी उपन्यास ‘परिवर्तित अनुहार’ उनिबाट साभार प्राप्त भयो। त्यसकोलागि लेखिकाज्यूलाइ धेरै धन्यवाद। चाढबाडको व्यस्तता, पारिवारिक र आफ्नै अफिसको कामको व्यस्तताले छिटो पढ्न सकिएन।
म कुनै समीक्षक वा समालोचक होइन, तर यो उपन्यास पढ़ीसकेपछि मनमा लागेका केही कुराहरु यहाँ लेख्न चाहें।
यो लेखमा मैले पुस्तकभित्र के छ, कथा कसको हो र किन लेखिएको हो भन्नेतिर धेरै नगई रीनाज्यूको लेखन कलामा कति प्रभावित भएँ त्यो भन्ने जमर्को गरेको छु।
(१) साधारणतया हरेक लामो छोटो कहानीमा मुख्य पात्रसंगै सहपात्रहरु, वाह्य पात्रहरु र उहाँहरुबीच एकअर्कालाई पूरक तुल्याउने भूमिका खेलिएको हुन्छ। कहानीलाई फरक फरक पृष्ठभूमिमा राखेर लेखिने गरिन्छ। कसैले स्वयम् पात्र भएर लेख्छन् भने कसैले तेश्रो व्यक्तिको कथा लेखिरहेका हुन्छन् । रीनाले यो उपन्यासमा आफैलाई मुख्यपात्र बनाएकी छिन् र अनुभव र भोगाइमा आधारित आफ्नै कथा भन्दै गएकी छिन् जस्तो आभास भयो ।
(२) उपन्यासमा मुख्य पात्रको नाम सुशीला हो जसले आफूलाई ‘क्रान्ति’ उपनाम दिएकी छिन् । उनि स्कूले जीवनदेखि नै कहिले हार नमान्ने र कसैमाथि दुर्व्यवहार भएको देख्न नसक्ने, जस्तै बलवान भुसतिघ्रे मानिस होस्, ऊ पीडक हो भन्ने थाहा पाएपछि उसलाई गतिलो सबक सिकाउन, पीडितकालागि न्याय दिलाउन पीडकमाथि हाकाहाकी जाईलाग्ने र आफूलाई कदापि कम्जोर स्त्री नठान्ने हठी, साहसी र निर्भीक व्यक्तित्वको भूमिका निर्वाह गरेकीछिन्।
(३) उपन्यासमा लेखिका स्वयम्, ‘क्रान्ति’ को छद्म भेषमा प्रमुख भूमिकामा उत्रेकी भान हुन्छ । जति पढ्यो उति रीनाको आत्मकथा जस्तो छ उपन्यास। छुट्ट्याउन सकिन मैले यो उपन्यास काल्पनिक हो वा वास्तविक, तर हुनसक्छ दुवैको सम्मिश्रण होला। यो चाहिँ मैले शक्तिशाली पक्ष भेटेको छु यो पुस्तकमा।
(४) नितान्त एकलो जीवन बिताउने ती मुख्य पात्र क्रान्ति यौटी शिक्षिका हुन्, वर्षौंदेखि कालिम्पोङ्गमा कार्यरत छिन्। आमा बाबाको निधन पश्चात् उनि स्वतन्त्र रुपमा यौटा लक्ष्य हासिल गर्न अघि बढेकी छिन्। भन्छिन् आमा बाबाले उनको प्रगति देख्न सक्नु भएन, उहाँहरुमा सचेतनाको कमी थियो। यही कुण्ठाले उनलाई विक्षिप्त बनायो र समाजमा स्वास्नीमान्छेप्रतिको दृष्टिकोण, व्यवहार र सोचाईमा आमूल परिवर्तन ल्याउने अठोट गरेर एक्लै भएपनि मैदानमा उत्रेर त्यो लक्ष्य हासिल गर्न उद्दत छिन्।
(५) मलाइ लागेको छ रीनाले यौटा नया शैली प्रयोग गरेकी छिन् यो उपन्यास लेखनमा। धेरै धेरै पात्रहरु छैनन् कथाहरुमा, जति छन् , हरेकको भूमिकाले रीनाको कथालाई बुन्दै बुन्दै गएको छ। परम्परागत प्लट र शैलीको उपन्यास होइन यो । यो कुनै लभस्टोरी पनि होइन, न वियोगान्त छ, न सुखान्त छ। न यसमा हीरो छ न हिरोइन। तर जे दर्शाइएको छ त्यो वास्तविक घट्नामा आधारित उनको संघर्ष, विद्रोह र ज्यानको बाजी लगाएर नारी उन्मुक्तिकालागि गरिएका अथक परिश्रमको साक्षात् दृष्यांकन ।
(६) हरेक अध्याय कुनै यात्रा, भ्रमण र त्यस दौरानमा प्रत्यक्ष देखिएका दृश्य, सुनिएका कारुणिक बयानहरु, अवलोकन गरिएका घरेलू अत्याचार र सुनिएका वेदनाहरुबाट बुनिएका छन्।
(७) क्रान्ति, स्कूलको छुट्टीमा कतै बाहिर जान्छिन् । यात्राको क्रममा उनि धेरै ठाउँहरु पुगेकी छिन् जस्तै डुवर्सको मटेली, कोलकाता, जाधवपुर्, न्यू जलपाईगुडी, सिलिगुडी, टिस्टा, दार्जीलिंग आदि। जता गए पनि उनले नारीमाथी भै रहेको अत्याचार, कुटपीट, पाशविक व्यवहार, बलात्कार देख्छिन् , प्रत्यक्षदर्शी भएर । आफै एक्लै पीडकहरुमाथि जाइलाग्छिन् प्रतिकार गर्न, कुकृत्यको सजाय दिन । हरेक स्थानतिर, हरेकदिन जस्तो नारीहरुले सहनु परेको अपमान, दुर्व्यबहार, उत्पीडन देखेर उनको रगत उम्लिन्छ। घर समाजमाथि उनको घृणा बढेर जान्छ। आक्रामक रुपमा उनले समाज र परिवारमा परिवर्तन ल्याउन चाहेपनि आफै फेरी अबला नारी भएको पनि पाउँछिन् र समाजले उनैलाई गिज्याउने, गाली गर्ने र अपमान गर्ने गरेको तथ्य पनि कथामा दर्शाएकीछिन् रीनाले।
उपन्यासमा ‘सीन’ हरु हुन्छन्, कुनै कारणले यौटा सीन जन्मिन्छ, र त्यही सीनले फेरी अर्को फेरी अर्को गर्दै असंख्य सीनहरु जन्माउदै जान्छ, प्रत्युत्पादनको सिद्धान्त अनुसार । रीनाले उपन्यासमा प्रस्तुत गरेका सीनहरु कुनै काल्पनिक नभएर नितान्त यथार्थ भएको देखिन्छ। लाग्छ हलमा कुनै सिनमा हेरी रहेका छौं, आँखा झिम नगरी, चिम नगरी। झन् पात्रहरुमाझ भएको कुराकानी (डायलग), स्थानीय बोलचालको भाषा प्रयोगले जीवन्त बनेका छन् ती ‘सीन’ हरु । लाग्छ म गाउँमा भै रहेको झगडा हेरीरहेको छु, मुख छाडेर बोलेको सुनीरहेको छु। कुटाकुट हेरीरहेको छु, नारीमाथी भै रहेको गाली गलौज र शारीरिक प्रताडना केवल मूक दर्शक बनेर हेरीरहेको छु। फेरी पात्र क्रान्तिले आफूलाई सम्हाल्न नसकी पीडक पुरुषमाथी जाईलागेको, रौद्ररुप धारण गरेर मरणासन्न हुनेगरी उसलाई पिटेको र मुखभरिको जवाफ र तर्क पेश गरेर, सबूत देखाएर गाउँ घर शहरमा नारी उत्पीडन विरुद्ध चेतना फैलाउन खोजेको प्रत्यक्षदर्शी पनि बनेको छु कथाभित्र भिजेर ।
पहिलो अध्यायमा प्रमुख पात्र “क्रान्ति” आफ्नी कलेजकी सहपाठी जरीनालाइ भेट्न कलकत्ता पुगेकी छिन् ; जसलाई उसका अब्बूले जबर्जस्ती कुनै अन्जान पुरुषसंग बिहा गराएर हजार माइल टाढा जाधवपुर, कलकत्तामा पठाई दिएर उनलाई आफ्नो इच्छाविपरीतको रुखो जीवन जिउन वाध्य पारिएको छ। जरीनाको चाहना थियो धेरै पढ्ने, अघि बढ्ने, कुनै लक्ष्य हासिल गर्ने तर कलिलो उमेरमा कसैको कामवासनाको दैनिक शिकार बन्न बाध्य पारियो कानूनी रुपले। बेकारी, चरित्रहीन लोग्नेको पिंजडामा निस्सासिएर मर्न न बाँच्न भएकी जरीनाको दुर्दशाले क्रान्तिलाई भित्रैबाट हल्लाई दिएको छ। उनि जरीनालाई मुक्ति दिलाउन चाहन्छिन् तर विवश पनि उत्तिकै छिन्।
(८) क्रान्ति फुर्सत भयो कि घरबाट निस्केर कतै न कतै जान्छिन् । उनले अर्की शोषित पीडित नारी भेट्छिन् कालिम्पोङ्गभित्रै, जसलाई उनको श्रीमान् विदेशमा हुदा ससुराले बलात्कार गरिदिन्थ्यो, विरोध गर्दा उल्टै सासुले आफैलाई चरित्रहीनको लान्छना लाएर लोग्नेको कान भरी घृणा र द्वेष उमारेर छोडीदिन्छे। ती नारीलाई अन्तत्: कुष्ठरोगले च्याप्छ अनि उनि फ्याकिन्छिंन् कालेबुंगकै लेप्रोसी अस्पतालको शैय्यामा. कालान्तरमा उनको स्वास्थ्यमा सुधार आएपनि उनि फर्केर त्यो नर्कतुल्य घर जान चाहन्नन।
यसरी पुरुष र नारी दुवैबाट असहनीय अत्याचारका घटनाहरु सुन्दा देख्दा क्रान्तिभित्र क्रान्तिको ज्वाला दन्किन्छ। उनी नारीलाई समान अधिकार दिलाउन चाहन्छिन् , पुरुषको एकछत्र राज, हैकम र पितृसत्ताको चरम दुरुपयोगको अन्त भएको देख्न चाहान्छिन्। जसरी सिद्धार्थ गौतम सांसारिक दु:ख कष्ट, जीवन र मृत्यु देख्दा देख्दा आजित भएर घर छोडी ज्ञानको खोजीमा बोधगयातिर लागेका थिए, त्यसरी नै आजीवन अविवाहित रहने र आफूलाई पनि पुरुष जस्तै देखाउने, चिनाउने र नारीमाथीको घृणित अत्याचारको घोर विरोध गर्ने दृढ संकल्प लिएकी छिन् क्रान्तिले।
शुरुदेखि उपन्यासमा विभिन्न घटनाक्रमहरुमा आफुलाई अल्झाउँदै,बल्झाउँदै, एकाकी जीवनलाइ मानवीय स्वतन्त्रता सम्झेर नारी उन्मुक्तिको महायज्ञमा होमियेकी क्रान्तिलाइ उपन्यासको छैटौं अध्यायमा यौटी साथी फेला पर्छे – उषा – जो मटेली चियाबगानमा आफ्नै पिता र दाजुबाट अवहेलित भएर र चरम शारीरिक हिँसासम्मको शिकार भएर घर छोडी भाग्यको भरोसामा सिलिगुडी झरेकी हुन्छे, जसलाई क्रान्तिले संयोगवश अनि भाग्यवश फेला पारेर आफूसित लिएर आउँछिन् । उषा जन्मदै फरक वर्णकी भएकीले आफ्नै पिताले उसलाई आफ्नो सन्तान मान्न अस्वीकार गर्दै उनकी आमालाई कुचरित्रकी भन्दै घोर मारपीट गर्थ्यो। दाजु त झन् क्रूर थियो। उषाको आमाको निधनपछि दाजुले जबर्जस्ती अधबैंसे मानिससित बिहा गराईदिन लाग्दा ऊ घर छोडेर क्रान्तिलाइ सम्झेर सिलिगुडी पुग्छे। क्रान्ति पहिले मटेली आउँदा नै क्रान्तिका क्रान्तिकारी विचारहरुबाट अत्यन्त प्रभावित भएकी थिई र क्रान्तिलाई मुक्तिदाता सम्झेकी थिई। संयोगवश त्यही दिन क्रान्तिले सिलिगुडी हंगकंग मार्केट अगाडी उषालाई उभिई रहेकी फेला पारेर सबै घट्ना सुनेपछि उसलाई विचल्नी हुनबाट जोगाउन आफूसित लिएर जान्छिन् ।
उनीहरु अरुले, समाजले नकारात्मक रुपले हेर्ने र व्याख्या गर्ने “समलिंगी” जोडी होइनन् तर यौटै लिंगकी अर्थात् दुवैजना नारी हुन् । एकले अर्काको भावना बुझ्दछन् , कदर गर्दछन् , सहयोग गर्दछन्। क्रान्ति उच्च शिक्षित शिक्षिका हुन् भने, उषा चियाकमानकी यौटी साधारण लेबरकी छोरी मात्र, अनपढजस्ती, तर कथामा दुइजनाको मित्रता हेर्न लायकको छ, पढ्न लायकको छ, अनि यस्तो भान हुन्छ दुवैजना एकअर्काका पूरक हुन् , अत्यन्त घनिष्ट साथी, अनि दुवैको सोचाइमा समानता आउदै जान्छ अनि उषाको अन्तर्मनमा पनि विरोध गर्न सक्ने शक्तिको संचार हुँदै जान्छ। आफूलाई पानी नचल्ने निम्न जातकी स्त्री हूँ भन्ने उसको सोचाइ र हीन भावनालाई क्रान्तिले धेरै टाढा भगाई दिएकी छिन्। जस्तै आइ परेपनि उषा अब पुन: फर्केर आफ्नो पुरानो घर मटेली जान चाहदिन। क्रान्तिसंगै जिउने उसको अभिलाषा र जिद उक्लिएर जान्छ। उसलाई क्रान्तिबाट धेरै सिक्नु छ, जान्नु छ र आफू पनि क्रान्तिकारी महिला मुक्तिदाता बन्नु छ । क्रान्तिलाइ पनि उसको सुरक्षाको चिन्ता छ तर सम्मान उत्तिकै गरेकी छिन् उषाको विचार र संकल्पलाई। कुनै जोरजवर्जस्ती गरिदिनन्। उषाका दाजु भाउजु एकदिन उषाको नया ठेगाना पत्तो लगाएर उसलाई लिन आउदा पनि क्रान्तिले नजानु पनि भनिनन्, जानु पनि भनिनन्। उषाको निर्णय सर्वोपरी थियो र उषाले क्रान्तिसंगै बस्ने निर्णय सुनायिन्। उपन्यासमा ‘छैटौं’ देखि अन्तिम अध्यायसम्म क्रान्ति र उषा दुई शरीर एक ज्यान जस्तो भै प्रगाढ मित्रताको बन्धनमा कसिएको पाइन्छ।
समग्रमा भन्नु पर्दा सत्र (१७) अध्यायमा लेखिएको यो १९१ पृष्ठको उपन्यासमा देखाइएको घटनाक्रम, र हरेक घटनाक्रमले उत्पन्न गरेको वास्तविक दृश्यहरुको वर्णन, चित्रण र कथन यति सरल भाषा र सलल बग्ने खोला जस्तो धाराप्रवाह लेखनलाइ म उत्कृष्ट ठान्दछु कारण यस्तो रोचक शैलीमा लेखिएको उपन्यास यसअघि मैले पढेको थियिन। यौटा अध्याय सकिने बित्तिकै नरोकिई अर्को अध्याय पनि पढीहाल्ने उत्कण्ठ इच्छा जागेर आउँछ।
मलाइ लाग्छ हरेक नारी, पुरुष र समाजले यो पुस्तक पढ्नु पर्छ। पढीसकेपछि नारीप्रति दृष्टिकोणमा सकारात्मक परिवर्तन त आउने नै छ, त्यसमाथी आजैदेखि समाजमा, घर परिवारमा विद्यमान कुसंस्कार, कुरीति, घीनलाग्दो सोचाइ, महिलामाथी गरिने कुदृष्टि, हातपात, कामवासना, बलात्कार, बेइज्जती, गाली, शंका उपशंका, सम्बन्ध विच्छेद जस्ता अत्याचार र विभेदहरु नष्ट गर्न तम्सिने जोश बढेर जानेछ।
नवोदित उपन्यासकार रीना सुब्बाले यो पुस्तकमा धेरै मिहिनेत गरेकी छिन् । उनि स्वयम् प्रमुख पात्र भएर उत्रिएकी छिन् कहानीमा। पाठकलाई लाग्दैन यो अरुकुनै व्यक्तिको कथा हो, बरु यस्तो लाग्छ रीना आफै नारी उन्मुक्तिकोलागि यो पुस्तकको वैशाखी टेकेर सन्मुख भएकी हुन्।
पढ्नु भएको छैन भने खोजी खोजी आजै पढ्नु होस् रीना सुब्बाको ‘परिवर्तित अनुहार’ ।
*****************************