सन् १९७२ तिरको कुरा हो।
म आठ कक्षामा पढ्थें। मेरो छिमेकी तथा सहपाठी शङ्कर पुरी थियो। उसको फुपाजु जैगाउँमा थिये, थर भारती। उनी पश्चिम बङ्गाल पुलिसमा शायद हवल्दार थिए। उनको ड्युटी स्टेशन दार्जीलिंग थियो। जैगाउँ आईजाइ गरिराख्ने र यता ता पुरीको घर ससुरालीतिर पनि आइरहने।
एकदिन शङ्करको घर आँगनमा हामी भेला भएका थियौं। हामी भन्नाले हाम्रो टोल, अर्थात् दलसिंहपाड़ा चिया कमानको स्टेशन लाइनमा बस्ने दौंतरी उमेरका साथीहरु । पुलिस अङ्कल भारती आएका थिए । उनले हामीलाई भने – “केटा हो, पुलिसमा भर्ती खुलेको छ। भर्ती हुनु दार्जीलिंग जानुपर्छ। जाने हो ? को को जाने ?”
हामीले भन्यौं – “फुपा, मेट्रिक पास त गरेका छैनौं, हामीलाई लिन्छ र ?” तर उनले भने – “मौकामा काम पाए त्यो मेट्रिक पासको के काम ? अहिले कम्तीमा आठसम्म पढेको भए पुग्छ। पछि आइए बीए गरेर पनि हावा खाई राख मोरा हो। “
हामी जान तयार भयौं। म, शंकर पुरी, धनप्रसाद उपाध्याय, तुलसीराज थापा, देवकुमार राना। जाने दिन तय भयो। तेतिका बेलासम्म साथी शंकर पुरी फुपाजुसंगै डाली फाटकको पुलिसलाइनमा बसेर टर्नबुल हाईस्कूलमा पढ्नु थालेको थियो। फुपाजु त फर्केर ड्यूटी गये। हप्ता दशदिनपछि हामी पाँचजना लाग्यौं दार्जीलिंगतिर। पुलिसमा भर्ती हुनुपाए भैगयो, को स्कूल पढी बस्छ, पछि के हो के हो, पुलिस भनेको त पेन्सन पाक्ने नोकरी हो नि । उमेर पन्ध्र सोलह साल होला हाम्रो, हामी मध्ये धनप्रसाद जेठा थिए।
हामी कतिजनाले सिलीगुडी त नदेखेको, झन् दार्जीलिंगको के कुरा गर्नु। हाम्रो नाइके बन्यो शंकर। उसको पछी लागेर हामी पुलिस भर्ती हुनु हिंडेका। उसको त दार्जीलिंग पानी पँधेरो नै थियो।
फुन्छोलिंगबाट आउने बिजीटीएस भुटान बसमा चढेर सिलिगुडी पुग्यौं, त्यहाँ रेल्वे जन्क्शन पारि क्याल्टेक्स भन्ने पेट्रोलपम्प थियो हिलकार्ट रोडमा। त्यसको वरिपरि दार्जीलिंग जाने ल्याण्डरोभर ट्याक्सीहरु प्रशस्त देखिन्थे। ट्याक्सी भन्नाले गोटे पेसेन्जर बोक्ने गाडी । रिजर्भ गर्नु नपर्ने, टाउको अनुसार भाडा दिनुपर्ने। प्रति केटाहरु ६, ६ रुपियाँ लियो भाडा, अनि हामी पछाडीको साँघुरो तेर्सो सीटमा खाँदिएर बस्यौं। दश रुपियाँ दिएको भए सेकेण्ड सीटमा बस्नु पाउने थियौं, तर चार रुपियाँको लोभ लाग्यो, कमानेका छोराछोरीहरू, दुईचार रुपियाँ भए पनि जोगाउने सुर थियो .
पहिलो यात्रा थियो पहाडी भेगमा। मुन्टो बंग्याउँदै घरि एता घरि उता बाटोभरि हेर्यौं। सुकना काटेपछि जीप लाग्यो उकालो। त्यस्तो गाडी र सयौं घुम्तीहरुमा कहिले नपरेको, घरि यता पछारिने, घरि उता, तीनधारे पुगेपछि वान्ता आउला आउला जस्तो भयो। धनप्रसादले एन्टी-हिस्टामिन हो कि के ट्याब्लेट दिए, त्यो खाएपछि रिङ्गाटा लाग्नु कम भयो, उल्टी गर्नु परेन तर थाप्ने प्लास्टिकको झोला तयार थियो। खार्साङ्ग पुग्दा अलिक अचम्म जस्तो लाग्यो , रेलको लीक र मोटरबाटो संगै रैछ। सोच्यौं हैट , के देख्नु परेको नि, एकआपसमा ठोक्किदैंन र भन्या ? चिया खानुलाई गाडी एकछिन रोकेको बेला बाहिर निस्केको, जाडोले मर्नु भयो। पातलो सुइटर लगाएर गएको, कोही थिएन ज्याकेट र कोट लाउने हाम्रो बेकारी समूहमा । एकै छिनमा हुस्सु आएर शहर ढाक्यो।
साँझ पर्ने बेलामा हामी दार्जीलिंग डाली फाटक पुग्यौं। शंकरले बाटोमा यो घूम, यो जोरबंगलो, यो सोनादा, भन्दै चिनाउदै थियो। गाडीबाट झरेर त्यसपछि कता हो कताको अलिकति बाटो ओरालो हिंडेपछि ब्लूमफ़िल्ड पुलिसलाइन पुग्यौं। भारती फुपाजुको यौटा सरकारी ब्यारेकभित्र कोठा रैछ। उनलाई भेटियो। उनले भने – “लौ केटा हो, आएछौ, खुशी लाग्यो, भोली आठ बजी बिहान देखी भर्तीको लागी लाइन लाग्नुपर्छ। यहाँ मेरोमा खाट छैन, भुइमा ओछ्यान लाएर सुत्नु, स्लिपिंग ब्यागहरु केही छन् । खानु चाहिँ येतिका जनालाई यहाँ हुदैन, बजारमा गएर खानु ल। “
हामी भोकले हत्तु भएका थियौं, चिया खार्साङ्गमा मात्र पिएको। झोला बिसाएर अलिकति बिस्कुट पानीसित खाएर हामी निस्कियौं। साँझको सात नै बज्न लागेको रहेछ। जाडोको याम थियो, त्यसै पनि दार्जीलिंग जाडो ठाउँ। शरीरको पातलो सुइटरले हामीलाई – “न डरा केटा हो, म छु” मात्र भनेको थियो, सबैजना लगलग काम्दै लाग्यौं आभा आर्ट ग्यालरी काटेर बाटैबाटो बजारतिर।
जीवनमा पहिलो चोटी फुच्चे रेल देख्यौं, स्टेशनमा सुती रहेको थियो। दार्जीलिंग बजार सुनसान हुँदै गएको थियो। शङ्करले हामीलाई कतिवोटा रोडसाईड होटेलतिर लग्यो तर अफसोस भात थिएन कतै। सबैले थुक्पा खाएर फर्कियौं। ढीलो भएको रहेछ खानाकोलागि। साँझ झमक्क पर्दा दार्जिलिङको कतिपय दोकानहरु बन्द भैहाल्दा रहेछन्. शंकरले रिंक सिनेमा हल देखायो, अनि त्यसैको ओरालो झर्दा उसको स्कूल देखायो टर्नबुल हाईस्कूल। अँधेरोमा के राम्रो देखियोस। जे होस्, हाँस्दै, बात मार्दै फेरी लेफ्ट-राइट मच्चियो डाली पुलिसलाइनसम्म। हिंड्दा हिंड्दा खुट्टा दुखेर हैरान, काछ पासेर कति दुःखी रहेको थियो, त्यसमाथी टाउको चीसो, जिउ चीसो।
पुलिस ब्यारेक पुगेर थाकेकोले होला चीसो भुइमा स्लीपिंग ब्याग ओछ्याएर सुतेको भुसुक्कै निदायौं।
भोलिपल्ट बिहान छ बजी उठेर हातमुख धोएर सलेदोवाला मटितेलको स्टोभमा चिया बनाएर खायौं । फुपाजुले हामीलाई सात बजी नै लिएर पुलिसलाइन माथीको ग्राउण्डमा लगे । त्यहाँ हामीले बुझ्यौं हाम्रो छाती, ऊँचाई, आँखा, शारीरिक स्वास्थ्य नापिने जोखिने रहेछ।
दुइचारजना अफिसरहरु आए। यौटा बंगाली थियो अरु नेपाली। एक घन्टाको दौरानमा त ग्राउण्ड भरियो भर्ती हुन आउने केटाहरुले। हामी त आठ नौ क्लास पढेका, शायद एकदमै कम शैक्षिक योग्यता भएका रहेछौं। त्यहाँ त दार्जीलिंगकै लोकल केटाहरु जसले आइ.ए. बी.ए.सम्म गरेका रहेछन्, उनीहरु पनि भर्ती हुन आएका। बेकारी समस्या त्यहाँ विकराल रहेछ। सयौं उम्मेदवारहरु थिए। आफूलाई हीनताबोध पनि भयो हामीलाई। हाम्रो शारीरिक तन्दुरुस्ती र बनावट त्यति राम्रो थिएन, डूवर्सको खिनौटे हामी दार्जीलिंग, खार्साङ्गतिरका कता कताका अग्ला, राता, पीरा, बलिया केटाहरु जताततै देखिन्थे ।
समय भयो, घन्टी बज्यो कता कता। लाइनमा उभिएर अघि बढ्यौं बिस्तारै। अफिसरहरूनिर पुगेपछि उनीहरुले सुराल खोल्न लाए, कमेज खोल्न लाए। स्याण्डो गन्जी र अण्डरवियर मात्र लाएर उभिन लाए। कुन्ताको तराईको मान्छे, दार्जीलिंगको चीसोमा, त्यो पनि गन्जी र कट्टुमा मात्र उभिनु पर्ने। के गर्नु, मरता क्या न करता। मन मरेर आयो , तर जेहोस् करीब एकघण्टा उभिएपछि, एकछिन कुद्नु लायो हामीलाई। त्यो पुलिस ग्राउण्डको एक चक्कर लाएर आवो, भन्यो। त्यसै गर्यौं। अलिअलि तातो भयो शरीर तर श्वास भने फ्याँ फ्याँ.
अनि शुरु भयो नाप-जोख प्रक्रिया। छातीको नाप हुनुपर्ने रैछ कम्तीमा तीस इन्चीको, आफ्नो अठाइसभन्दा माथी पुगेन। हाइट पनि पुगेन, अनि वजन पनि पुगेन। हामीले भन्यौं – सर जाडोले छाती खुम्चियेकोले होला, उता घरमा त तीस इन्ची नै थियो।” तर उनले बेस्सरी हकारे। “हावा न दे न, छाती नपुगे पनि हाइट र ओजन पनि जाडोले घट्छ ?” हामी चूप।
दश मिनटमा हाम्रो भाग्य निर्धारण भयो। हामी सबैजना अस्वीकृत। लुगा लाएर निस्कियौं बाहिर र डेरा पुगेर पाउरोटी र चिया खाएर सोहीदिन घर फर्किने निर्णय गर्यौं। फुपाजु पनि आइपुगे। आश्वासन दिए – “यो पहिलो लिस्टमा तिमीहरु नभए पनि दोश्रो लिस्ट अलिक पछि निस्किन्छ, त्यतिबेला हेरौंला। अहिलेलाइ जावो घर, कि घुमघाम गर्ने हो भने बस एक दुईदिन. ” तर बिचरा फुपाजुको कोठाको स्थिति, जाडो र खाने व्यवस्था नमिलेकाले हामी घरतिर लाग्ने निर्णयमा पुग्यौं .
अनि एघार बजी फेरी हाम्रो यात्रा शुरु भयो अर्को ल्याण्डरोभरको तेर्सो सीटमा बसेर। यसपाली चाहिं ओरालै ओरालो। दिन खुलेको थियो , डाली फाटकको घुम्तीबाट हेर्दा दार्जीलिंग कति सुन्दर देखिएको थियो, पारी हिमाल कन्चनजंघाको रुप नै अलौकिक थियो। तर हाम्रो मन खुशी थिएन। पुलिसमा भर्ती हुने सपना चुँडिए पनि अलिक दिन बसेर दार्जीलिंग हेर्ने रहर थियो; तर जहाँ पाहुँना थियौं त्यहाँ भुइँमा सुत्नु र सबैकुरा बाहिर आफ्नै पैसाले किनेर खानु भनेपछि चाहिएन त्यस्तो आतिथ्य, हामीसित धेरै पैसा पनि थिएन। फेरी स्कूल नै सम्झिन कर लाग्यो। फर्किंदा ट्याक्सी चालकले क्यासेट बजाएको थियो – “जिन्दगी एक सफर है सुहाना, यहाँ कल क्या हो किसने जाना” । बाटो राम्रैसित काटियो गाना सुन्दै।
अहिले सम्झिन्छु, त्यतिबेला पुलिसमा भर्ती भै हालेको भा ? हुनु त म यतिबेला सेवानिवृत्त भैसक्ने थिएँ। जिन्दगी नै अर्कै लिकमा गुड्ने थियो, कहाँ पुग्थें, के गर्थें। चियाबारीमा स्कूल छुट्टी भएको बेला छोकड़ा लेबरको अस्थायी काम दैनिक दुई रुपियाँमा गरिन्थ्यो, चियाका बोटहरुमा फैलिएका मेकानेका लहराहरु तानेर हटाउन एक फर्लांग लामो लाइन सफा गरिसकेको आठ आना दिन्थ्यो बगानले, तरैपनि आधा दिनमा चारदेखि ६ लाइनसम्म सफा गरेर गोजी खर्च कमायिन्थ्यो। फुन्चोलिंगको भव्य मिगसिनेमा हलमा थर्ड क्लासको टिकट त्यो बेला साठी पैसा पर्थ्यो। हप्तैपिछे हिन्दी बाइस्कोप हेर्न झोर्नी गरेको पैसाले पुग्थ्यो। त्यस्तो टीठलाग्दो आर्थिक अवस्थामा सुधार आउँछ कि भनेर पुलिस भर्ती हुन चलीरहेको पढाई पनि छोडेर जाने निधो गरिएको थियो। तर त्यो सपना अधूरै रहेको थियो।
दार्जिलिंगबाट फर्केपछी पढाईमा निकै ध्यान गयो। सम्झें, बीचमा पढाइ छोड्नु भनेको खुट्टामा बन्चरो हान्नु सरह रहेछ। त्यो बेला दार्जिलिंगका युवा स्नातक पढेकाहरु पनि पुलिसको सिपाही जस्तो निम्न ग्रेडमा भर्ना हुन सयौंको संख्यामा आएको देखेर भविष्यमा त्यो शहर, जिल्ला कस्तो भएर जाला भन्ने सोच आएको थियो। हुन त पुलिस भर्ती अहिले पनि जारी नै छ,फरक यति हो उहिलेको जस्तो जाडोमा लाइनमा उभिएर आफ्नो भाग्य अज्माउनु पर्थ्यो, अहिले भने सबै अनलाइन आवेदन दिनु पर्नेहुँदो रहेछ। विभिन्न तहका पदहरुमा हुने भर्ना प्रक्रिया, शारीरिक मापदण्ड, न्यूनतम शैक्षिक योग्यता, आदि पहिलानै थाहा हुँदो रहेछ। बेरोजगारीको समस्या पहाडमा र हाम्रो डुवर्समा अहिले पनि विकराल छ। पुलिस, आर्मीको जागिर बाहेक अन्यत्र स्कोप धेरै संकुचित छ. प्रगति त धेरै भएका छन् तर पनि जनसंख्याको वृद्धिसंगै बेकारी समस्याले हरेकदिन ग्रस्त हुँदै गएको देख्दछु पहाड, डूवर्स र तराइ।
****