अमेरिकामा छोरा – बुहारीकहाँ यसपालिको दशैंको तामझाम सकिएपछि बेलायत फर्किने समयमा यौटा उपहार प्राप्त गरें – ‘विषम वियोग’, पन्ध्रवटा रोचक कथाहरुको संग्रह कथाकार सरोजिनी ‘सागर ‘ देवानबाट। चिनजान पनि राम्रो भएको थिएन, तर उहाँका रचनाहरु बेलाबखत भारतको सिलगढ़ीबाट प्रकाशित हिमालय दर्पण दैनिक अखबारमा पढ्ने गरेको थिएँ। म त्यसै पनि साहित्य अनुरागी , उनका सृजनाहरु मेरो नजरबाट के लुक्न सक्थे। शायद उनलाई पनि थाहा लाग्यो म पनि एउटा नेपाली साहित्य अनुरागी हूँ भनेर। तत्काल आफ्नो प्रथम कृति ‘विषम वियोग’ को ईबुक पठाईदियिन् मलाइ – ‘माइती दाजुलाई उपहार’ भनेर, व्हाट्सएपमा ।

फुर्सदै फुर्सद थियो, घुमघाम सकिएर घरमा थन्किएका थियौं हामी बुडाबुडी, त्यसैले ‘विषम वियोग ‘ मेरो फाल्तू समय बिताउने अत्यन्त मिल्ने साथी भैगयो लस् एञ्जेल्समा, अनि दुईदिनभित्र सबै कथाहरु पढी सकें।
एक त भर्खरै चिनेको कथाकार , त्यहीं माथी मेरा दर्जनौं फेसबुके मित्रहरुको पनि म्युचुअल मित्र रहिछिन् सरोजिनी, अब त बहिनी पनि आत्मीय लागिन् अनि आइप्याडमा शुरु गरें उनको कथायात्रा।
सर्वप्रथम त सरोजिनी को हुन् भन्ने नै थाहा थिएन राम्रोसंग, फेसबुकमा पनि चिनजान नभएकोले उनले रचेका कैयन् कविता , गज़ल , लघुकथाहरु पढ्नबाट वन्चित भएको रहेछु। त्यसैले पहिला ‘विषम वियोग’ भित्रका लामा लामा भूमिकाहरूबाट उनलाई चिन्न खोजें अनि मानसपटलमा उनको साहित्यिक छवि उज्यालिन्दै गयो। छिटपुट छिटपुट लेख्ने गरेपनि ‘विषम वियोग ‘ कथासंग्रह भने गत वर्षकोअन्ततिर पहिलो पुस्तकको रूपमा प्रकाशित भएर आएछ , विमोचन भयेछ अनि उनकै भनाइमा समीक्षा , समालोचना , चर्चा परिचर्चाहरु पनि प्रकाशित भएका रहेछन् विभिन्न अखबार र पत्रपत्रिका अनि सामाजिक संजालतिर । फेसबुक र अन्य साहित्यिक चौतारीहरुमा उनले समसामयिक रुपमा कविता , लघु कथा , गजल आदि लेखेर नेपाली साहित्यलाई धेरै अघिदेखि नै धनी तुल्याएकी पनि हुन्। हार्दिक वधाई छ सर्जक सरोजिनीलाइ।
को हुन् त सरोजिनी ‘सागर’ देवान? :
पेशाले पश्चिम बङ्रगाल सरकार अन्तर्गत दीर्घकालीन रुपमा कार्यरत स्वास्थ्य परिचारिका सरोजिनी नेपाली साहित्यमा भर्खरै आफ्नो पहिलो कृति ‘विषम वियोग’ संग्रह लिएर सिद्धहस्त लेखिकाको रुपमा प्रवेश गरेकी सशक्त र प्रतिभाशाली कथाकार हुन् । समसामयिक लेखिकाको रूपमा यिनले भारतीय नेपाली जनजीवनको, बानी बेहोराको, नकारात्मक र सकारात्मक सोचाईहरुको र आफ्नै समाजको चित्रणसमेत गरेकी छन् ।
थाहा भयो उनि त साहित्यिक सामजिक पृष्ठभूमिमा हुर्केकी नारी सर्जक रहिछन् , साहित्यको उर्बर भूमि खर्साङ्ग (दार्जिलिङ्ग) की रैथाने, नेपाली भाषाको लेखन शैली, व्याकरण र शब्द बुनाईमा राम्रो दखल भएकी युवा लेखिका साहित्यकार । खर्सांग नजिक तीनधारेमा माइती भएकी सरोजिनी सुपरिचित साहित्यप्रेमी, नाट्यकलाकार र सामाजिक कार्यकर्ता स्वर्गीय मदन देवानकी साहिँली सुपुत्री हुन् ।
स्वास्थ्य सेवा जस्तो अहम् भूमिकामा आफुलाई समर्पित सरोजिनीको साहित्यप्रेम त पारिवारिक पृष्ठभूमि बाटै मलिलो भएर आएको रहेछ। स्वास्थ्य परिचारिकाको जीवन कति व्यस्त हुँदो हो , खटाई कति हुँदो हो, खाना पनि समयमा खानु पाइन्छ कि पाइन्न, तर पनि थोरै उब्रेको समय पनि साहित्यिक सृजनामा खर्चिने सरोजिनीको लगन , परिश्रम र कौशललाइ मान्नै पर्छ।
० ० ० ०
मलाइ त्यसै पनि छोटो कथाहरु मन पर्छन , हेमिन्ग्वेका कैयन छोटा कथाहरुबाट प्रभावित म नेपाली सर्जकहरुलाइ पनि सोही कसीमा राखेर मन पराउने गर्दछु।
पहिलो कथा ‘आवरण’ रहेको छ भने अन्तिम कथा ‘त्रिया चरित्र’ . पहिलोमा एकजना लोग्ने मान्छेको र अन्तिम कथामा एउटी विवाहिता महिलाको असली चरित्र देखाइएको छ जसले मन नै अमिलो बनाईदिन्छ। त्यो भनेको कथा अत्यन्त सफल भएको मान्छु म।
त्यसो त ‘बिग्रेकी केटी’ र ‘यौटा माया यस्तो पनि’ ले आजभोलि हुनेगरेको विषम परिस्थति , विषम जीवन , विषम रहनसहन र देखिने गरेका विषम घटनाहरुको सुन्दर प्रतिनिधित्व गरेकाछन । कतै वियोग छन् कतै मिलन , यी कथाहरु मार्मिक मात्रै होइन, समाजलाई सतर्क बनाउन पनि उत्तिकै महत्वपूर्ण छन् . त्यसैले यो ‘विषम वियोग ‘ ले सान्दर्भिक कथाहरू बोकेर ल्याएको छ।
‘आवरण’ कथाबाट शुरुवात भएको यो संग्रहमा पहिलो कथामै रस भिजेर आउँछ । लेखाईको स्तर कस्तो होला भन्ने छनक त्यहींबाट पाइन्छ। मानिस बाहिरबाट जे जस्तो देखिए पनि , जे जस्तो व्यवहारले लोकप्रिय, मनप्रिय भएता पनि उसको भित्री रहस्यमयी कुण्ठा जति लुकाउन खोजेपनि अन्तमा त्यो बाहिर देखिन आउँछ भन्ने दृष्टान्त यस कथामा छ, जसले पाठकलाई छाँगोबाट खसाईदिन्छ। खर्सांगको छिमेकमा बस्ने एउटा गैरनेपाली मानिस नेपालीजातिको जग्गा, समाज, रहनसहन, रीतिरिवाज, सबैभित्र पसेर बर्षौं नङ र मासुजस्तो मिलेर बसेको छ, छाला र रूपले मात्र अनेपाली हो ऊ तर नेपाली दाजुभाइ दिदीबहिनि साथीसंगीहरुको सुखदुखमा साथ दिन्छ, राजनीतिक वा नेपाली जातीय उत्थानकोलागि गरिएका कैयन आन्दोलनहरुमा सहभागी भैदिन्छ , सक्दो सहयोग पुर्याउँछ। तर एकदिन उसले बर्षौं संगै बसेका इष्टमित्र, छिमेकी , घरबेटी आदि छोडेर तराइमा आफ्नो नवनिर्मित घरमा सरेर जान्छ , अनि पहाड केहीदिन सुन्ने भैदिन्छ, उसलाई गुमाउनेहरु उदास उदास भैदिन्छन। तर ‘कुकुरको पुच्छर जति नै बाँसको ढुङ्ग्रोमा राखे पनि त्यो कहिले सीधा हुदैन’ भन्ने हाम्रो मान्यता त्यही मनपर्ने मानिसमाथी लागू भएको देखिन्छ। एकदिन कथाकारले सोध्छिन उसलाई – ‘यो बाटो कता जान्छ दाजु’ ? अनि उसले उत्तर दिन्छ – यो त तिमारको देश नेपाल जान्छ।
पन्ध्र वोटा कथाहरुलाई यौटै पोकोमा बाँधेर ‘विषम वियोग’ पुस्तक निकाल्ने आँट गरेपछि सरोजिनिलाई हौसला , शुभकामना र सक्दो सहयोग दिनेहरुको लर्को लागेछ। अन्तमा उनको सपना साकार भएर छोड्यो अनि यो पहिलो कृति हाम्रो हातमा आइपुग्यो। हामी सामाजिक प्राणी , हाम्रो वर पर , टाढा नजीक कति कति रोचक , घोचक, घिनलाग्दा , रमाइला, बिछोड , मिलन आदि घट्नाहरु घटी रहन्छन। यस्तै यस्तै विषयहरुलाई मुठा पारेर सरोजिनिले बढो रोचकताका साथ् कथाहरुमा ढालेकी छिन्।
सबै कथाहरुको गति यौटै छैन , कुनै कुनै त जेट स्पीडमा कुदेका छन् तर उनको प्रयासलाई मान्नु पर्छ। त्यसो त छोटा कविताहरु, लघु कथाहरु र खास गरी मुक्तक लेख्न सिपालु सरोजिनीलाइ पहिलोपल्ट कथासंग्रहमा हात हाल्दा विभिन्न लम्बाई र गतिका सृजनाहरु तयार गर्नुपर्ने भएको हुनुपर्छ। लेख्न चाहेका र भन्न चाहेका धेरै वाक्यहरु सीमित परिधिभित्र राख्नुपर्ने भएकोले पनि त्यस्तो भएको हुनुसक्छ।
यो संग्रहभित्रको उनको छैटौं कथा ‘परिसीमा’ मा यौटा वियोगान्त मौन प्रेमको वर्णन छ. मुम्बईको अस्थायी बसाइको क्रममा पार्कमा अचानक भेटिएका करीब हाराहारी अधेड़ उमेरका मिस्टर जोशी र मिसेज लामाको औपचारिक मित्रताले सीमा नाघेको भेटिन्छ। मिसेज लामाले सहानुभूतिपूर्वक मिस्टर जोशीको मित्रता स्वीकार गर्छिन् र उनको जीवन कहानी सुनेपछि उनलाई मीठो मीठो खाना पनि बनाएर पार्कमा जोशीलाई दिन्छिन्। तर मिस्टर जोशीले मिसेज लामालाई भित्रभित्रै मन पराइसकेर एकदिन जन्मदिनको उपहारसंगै ‘के हामी दुइजना एक हुन सक्तैनौं ?’ भनी संदेश पठाएपछि मिसेज लामा झास्किन्छिन् , अचम्भित बन्दछिन्। त्यसपछि के भो त ? ‘विषम वियोग’ पढ्नैपर्छ जान्नलाइ ।
सबै कथाहरुमा सरोजिनीले आफूले भोगेको र देखेको सत्यहरु पोतिएका छन्। मीठो र सरल भाषामा लेखिएको कथामा सरोजिनीको उच्चकोटिको लेखन शिल्प र भाषा ज्ञानको सराहना नगरी सुख छैन भावनाहरुमा बगेर भन्दापनि यथार्थमा डुबेर लेखिएका छन् कथाहरु। माया – प्रितीका सस्ता डाइलगहरु छैनन् , यौटा कथा पढेपछि त्यो सकेरै छोड्ने मन भएर जान्छ; अनि फेरी अर्को पनि थाल्ने हुटहुटी शुरु भैहाल्छ। यो भनेको उनको पाठकहरुलाई आकर्षित गर्ने र बाँधेर राख्ने कला हो भन्छु म।
सबै कथाहरुको परिचय यहाँ लेख्ने मेरो ठाउँ कम छ, पहिले नै सबैको झलक देखाउन थालेपछि फेरी तपाइहरुले विषम वियोग किनेर पढ्नु होला र ?
सरोजिनिका कथाहरु भित्र दुःखद अनुभूति, पीडाबोध, उदासीनता, समाजको कुरूपताको चित्रणका साथै आफ्नो वैयक्तिक जीवनका सहजानुभूतिका साथै आफू बाँचिरहेको युग र स्थानमा व्याप्त सामाजिक, आर्थिक, शैक्षिक, वर्गीय, जातीय, लैङ्गिकलगायतका विभेदहरू र तिनबाट सृजित विषयवस्तुलाई मूल विषय बनाएको देखिन्छ । भावना, आधुनिकताको नाममा आएको विकृति आदि विषयलाई प्रस्तुत गरेकी छिन् सरोजिनीले । उनले कथाहरूमा वर्तमान समय र सभ्यताका नाममा हुने गरेका विकृतिलाई पनि टड्कारो रूपमा देखाएकी छिन्। संग्रह भित्रका पन्ध्र कथाहरुले विविधता बोकेर हिंडेका छन् । मूलतः विविध समय, परिवेश परिस्थितिभित्र जीवनको विसङ्गति केलाएर हेर्ने जमर्को गरको छ ‘विषम वियोग’ ले।
जुनसुकै साहित्यिक विधाका लागि पनि भाषाशैली अनिवार्य त भाषामा सरलता सहजता र स्पष्टता भएमा कवित्व शक्ति अझ प्रभावकारी बन्दछ । सरोजिनीले कथाहरुमा सरल सहज र स्वाभाविक शब्दको प्रयोग गरेकी छिन् । स्थानीय बोलीचालीको भाषाको प्रयोग गरेकी छिन जसमा व्याकरण र हिज्जेहरु अधिकतमरुपमा स्वस्थ, स्पष्ट र सठीक छन्र।
सारांशमा भन्नु पर्दा सर्जक सरोजिनी सागर देवानको ‘ विषम वियोग’ घरिघरि दराजबाट निकालेर पढ्नुपर्ने कृति पुस्तक बनेको छ जसमा गद्य सौन्दर्य एवम् भाव प्रयोगका दृष्टिले पनि उत्कृष्ट देखिएको छ। कथ्य र शिल्पको उपयुक्त संयोजनले लेखाइमा उत्कृष्टता थपेको छ ।
वर्षदिन भन्दा अलिक बढी समय बितिसकेको छ पुस्तक बिमोचन भएको, कतिले बिर्से होलान् त कतिले थाहै पाएका छैनन् होला यस्तो पनि सुन्दर कथाहरुको संग्रह आइसकेको छ भनेर। जम्मा १०७ पृष्ठहरु भएको यो कथा संग्रहको मोल भा.रु २००/- मात्र छ, तर भित्र भने सामग्रीहरु अनमोल छन् । यसलाई खर्सांगकै ज्ञानकुन्ज बुक्सले ले-आउट, डिजाइन र प्रकाशन गरेको हो।
‘विषम वियोग’ सरोजिनिको प्रथम कथाकृति हो . कथा लेखनमा उनको सत्प्रयासले उनि भविष्यमा यौटी स्थापित कथाकारको रुपमा प्रसिद्ध हुनेछिन् भन्ने मलाई द्विविधा छैन। सरल, सहज र प्रभावोत्पादक भाषाशैलीमा हृदयस्पर्शी रचना लेख्ने सरोजिनीको लेखन विशिष्ट शैलीको छ । सप्पै कथाहरुमा उनले देखेका, भोगेका दैनिक जीवनका दृश्य र घटनाहरु छाएका छन् । उनले निरन्तर रुपमा आफ्नो सृजनशीलतालाइ अघि बढाएर लाने छिन् भन्ने मलाइ विश्वास छ।
धेरै धेरै शुभकामना र बधाई छ सरोजिनी ‘सागर ‘ देवान ज्यूलाइ !

article here…