देव आनन्दसंग…. देव आनन्दसंग हात मिलाउने रहर !! महानायक स्वर्गीय श्री देव आनन्द प्रति भावपूर्ण श्रद्धान्जली सहित यौटा छोटो संस्मरण !! हिन्दी सिनेमा जगतका सदाबहार नायक देव आनन्द बाँची रहेका भए आजको दिन १०१ साल पूरा गरेका हुने थिए। नायक , निर्देशक , निर्माता देव आनन्द रोमाण्टिक सिनेमाकालागि प्रख्यात थिए , त्यो तपाइँ हामी सबैलाई थाहा भएकै कुरा हो। जहिले पनि कुनै नयाँ प्रयोग गर्न रुचाउने , नया प्रतिभालाई आफ्नो सिनेमामा प्रमुख भूमिका दिलाउने , अनि विशेष गरी कलिली ताजा अनुहारकी हिरोइनलाइ ब्रेक दिने यस्ता नायकको जीवनलीला लण्डनको यौटा विख्यात होटेलमा स्वास्थ्य उपचारको क्रममा सन् २०२३ को डिसेम्बर महीनामा समाप्त भएको थियो। उनको बारेमा अरु धेरै नलेखी मेरो उनीसित भएको प्रत्यक्ष भेटको सम्झनालाइ यहाँ बिसाएको छु। सन् १९७२ मा , जतिबेला म कक्षा ९ मा पढ्दै थिएँ। हाम्रो चियाबगान हासीमारा – फ़ुञ्छोलिङ्ग भुटानको हाइवेमा नै पर्दथ्यो। भारतबाट भुटान पस्ने त्यो नै प्रमुख मार्ग थियो। हाम्रो गाउँबाट बीस मिनटमा पुगिन्थ्यो फुन्छोलिंग। उसबेला अहिलेको जस्तो भव्य गेट (प्रमुख प्रवेशद्वार) थिएन। फलामको तगारो थियो जसलाई यौटा पुलिसले उठाउने, झार्ने गर्थ्यो गाडीहरुको आवत जावत हुँदा। जयगाउँबाट भुटान पस्न गेटबाटै पस्नु पर्छ भन्ने थिएन , कैयन ठाउँहरु थिए , अहिलेको जस्तो कंक्रिटको अग्लो देवल थिएन।जताबाट पसे पनि हुन्थ्यो भुटान। गाडीहरु भने मेन गेटबाटै छिर्नु पर्थ्यो तर अलिक तल पनि थियो छिर्ने ठाउँ बिना गेटको। स्कूलमै हल्ला चलेको थियो देव आनन्द फुन्चोलिंग जाँदैछन् हाम्रै स्कूल अगाडीको हाईवे भएर। शायद बागडोगरा कि हासीमारा एयरपोर्टबाट आएका थिए उनि। देव आनन्द वर्तमान राजाका बाजे जिग्मे दोर्जे वान्ग्चुकका दोस्त थिए। दोर्जेको निधन भएपछी उनका जेठा छोरा जिग्मे सिन्ग्ये वान्ग्चुक जो कलिलै केटा थिए, लाइ सन् १९७२ मा राज्याभिषेक गरेर नया राजा बनाइयो। यसै अवसरमा देव आनन्दलाइ पनि निम्त्याइएको थियो र राजधानी थिम्पुमा हुने समारोहमा पुग्न एक रात फ़ुञ्छोलिङ्गमा बास बस्ने पर्थ्यो। फुन्छोलिंग देखि थिम्पु १७५ किलोमिटरको दूरीमा छ। दिउसो १ बजेको टिफिन देखि आँखा तन्काउँदा तन्काउँदा बल्ल बल्ल लावा लस्करसहित देव आनन्दको सवारी आयो। घाममा उभिएर उनको दर्शनकोलागि प्रतीक्षरत् हामीले एकदम क्षणिक झलक मात्र पायौं , उनले हल्का नीलो रंगको जापानी टोयोटाकारको पछाडीबाट हात हल्लाएर जनताको अभिवादन गरेका थिए। स्कूल छुट्टी हुने साथ् बसमा पसेर हामी फुन्छोलिंग पुग्यौ , किनकि थाहा भएको थियो फुन्छोलिंग शहरको एकमात्र स्तरीय तर गैर – तारेहोटेल Kuenga मा बसेका छन् भनेर। हामी पुग्दा सयौं सयौं मानिसहरु होटेल अगाडी थुप्रिएका थिए जसमा ९० प्रतिशत भारतीय थिए , नेपाली , मदिसे , बंगाली , बिहारी , आदि आदि। हाम्रो लक्ष्य थियो देव आनन्दलाइ नजीक बाट प्रत्यक्ष हेर्ने। सनक चढेको थियो। झोलामा किताप बोकेर त्यो भीडमा घन्टौं उभिन पुग्यौं। खुट्टामा जुत्ता पनि थिएन, स्याण्डल लगाएको थिएँ। अन्तमा ५ बजितिर घाम अस्ताउने बेलामा उनि होटेल बाहिर आए। त्यहाँ त बाफ रे घम्साघम्सी , तँछाड-मछाड, ठेलाठेल उग्र भयो, मेरो त यौटा स्याण्डल नै खुस्केर कता पुग्यो तर पनि छोडियेन देव आनन्दसित हात मिलाउने उत्कण्ठ अभिलाषा। उनि कति सहृदयी थिए, जस्तो फिलिममा देखिन्थे उस्तै देवआनन्द, घाटीमा पहेलो ठूलो रुमाल बेरेका , अग्ला, पूरा बाहुला भएको रातो कमेज लगाएका , हेन्डसम। देख्ना साथ् फुन्छोलिंग देव आनन्द जिन्दाबादको नाराले गुन्जायमान भएको थियो। मेरो क्लासको साथी थियो निर्मल अग्रवाल , जो भुटान हार्डवेयरको मालिकको छोरा थियो , उसले मलाइ जसरी तसरी पुर्यायो देवआनन्द सम्म र एक सेकेण्ड मात्र भए पनि उनको हात छुनु पाएँ , हात मिलाएँ। उनि मुस्काएर सबैसित सकेसम्म भीडमा उभिएर हात मिलाई रहे। भोलिपल्ट उनि थिम्पु गए। आज ५२ साल भयेछ उनीसित हात मिलाएको पनि। सम्झना गर्दै उनको पुण्यतिथिमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै यो संस्मरण तयार पारें।Long live in our memory, the ‘Original King of Romance’.