Blogger - Writer - Translator - Storyteller

Happy New Year

This image has an empty alt attribute; its file name is image.png


फेरी आयो नयाँ वर्ष।

यो हरेकपल्ट आउँछ, लाखौंले बढो तामझामले मनाउँछन्; तर यो वर्ष मणिकाकोलागि केवल उदासी मात्र लिएर आएको छ। उसका दुवै नयन रसियेका छन। वार्ड्स लेकको वरिपरि सयौं जम्मा भएका छन् आज । युवा युवतीहरु तालको किनार किनार उफ्रिंदै फोटो लिन मस्त छन्।

मणिका यी सबै दृश्य हेरी रहेकी छे तर त्यो भीडमा उसले आफ्नो प्रेमीलाई देख्न सकिन । आँखाहरु त्यो लेकको कुना कुनामा पुग्छन्  तर पनि ऊ कतै छैन, कहीं छैन। बोलेको पनि सुनिन्दैन। हेर्दा हेर्दै उनको मानसपटलमा पुराना यादहरु चलचित्र झैं आउन थाल्छन्।

त्यो दिन पनि नया वर्षको पहिलो दिन थियो अर्थात् “फर्स्ट जनवरी”।

This image has an empty alt attribute; its file name is image-5.png


वार्ड्स लेकको बीचोबीच रहेको सेतो पुलमा उभिएर तल सयौंको संख्यामा यताउता कुदी रहेका राता माछाहरुलाई बदाम छोडाएर खुवाउँदै आनन्द लिई रहेकी मणिकाको दुवै आँखा पछाडीबाट आएर कसैले छोपी दियो। उ तर्सी, । को हो आँखा छोप्ने, मीठो आभास त भयो उसलाई तर पनि कृत्रिम क्रोध प्रकट गर्दै झर्केर अंग्रेजीमा बोली – “हू इज दिस् स्टुपिड अनसिभिलाइज्ड”?

“गेस् मी” – केटाको उत्तर थियो।

ऊ रिसाई – ” कस्तो बदमास, झन्डै पर्स पानीमा खसेको। हेर डम्बर, म रिसाउँछु अनि चाख्ने छौ। “

“रिसाएर त हेर ? यहीँबाट बोकेर लान्छु अनि। “

अनि दुबैजना मरीमरी हांस्छन। कति सुन्दर मौसम थियो, घाम लागेपनि चिसो धेरै थियो। त्यसैपनि शिलाङ्ग, मेघालयको राजधानी, दार्जीलिंगकै दिदी भने हुन्छ। दिन खुलेपछि सयौं देशी र विदेशी पर्यटकहरु झुम्ने ठाउँ वार्डलेक नै थियो। गर्मीको बेला धेरै भीडभाड हुन्छ यहाँ, तर आजपनि मानिसहरु कम छैनन्।

“जाउँ पर क्याफेमा, कफी खानु “, अनि दुवैजना अंकमाल गर्दै लागे ताल किनारको सानो कटेज क्याफेमा। कफी अर्डर गरेर दुवै एक अर्काको नयनमा आफूलाई हराउन थाले।

यो वर्ष डम्बरको बी.एस.सी.  को अन्तिम वर्ष हो, यसपाली ऊ घर फर्केन। अब एकै पल्ट जून जुलाईमा फाइनल परीक्षा सकेर मात्र जाने रे। तीन वर्षअघि शिलाङ्गको प्रतिष्ठित सेन्ट एन्थोनी कलेजमा ऊ भर्ना हूंदा पहिलोचोटि मणिकाले डम्बरलाइ क्लासमा देखेकी थिई। डम्बर भूटानबाट आएको विद्यार्थी थियो। पहिलो दिनको परिचय आदान प्रदान कार्यक्रममा उसले आफू कालिम्पोङ्गको सेण्ट अगस्टीन स्कूलबाट आई.एस.सी. सकेर आएको भनेको थियो। भूटानबाट अरुपनि आएका थिए तर साइन्स क्लासमा आउने केवल डम्बरमात्र थियो।

मणिका स्थानीय शिलाङ्ग शहरकै वासिन्दा थिई। उनका माता पिताको सानो होटेल थियो, जसमा उसले छुट्टीको बेला सघाउने गर्दथी। लाइतुम्ख्राह (जसलाई लाइमोख्रा पनि भन्दथे) पोष्ट अफिस नजीक उसको वासस्थान थियो। आमा खसियानी र बाबा नेपाली छेत्री। जमानामा नेपालबाट आएर मेघालयमा घरजम गर्ने नेपालीहरु धेरैले

स्थानीय खसियानी (खासी) केटीहरु विवाह गरेर बसेका थिए। मणिका सुन्दर थिई, खासी आमाजस्ती गोरी, मंगोलियन जस्तो अनुहार भएकी।  

छुट्टीको दिन थियो, कलेजको पहिलो ब्रेक, गुड फ़्राइडे, हलिडे। मणिका होटेलको काउण्टरमा बसी रहेकी थिई। त्यतिकै बेला संयोगले तल ओरालो बाटोमा डम्बरको भूटानी समूह आएको देखी। अन्जानमै उसले हात उठाई, “डम्बर, मी हियर मणिका।

डम्बर झसंग भयो, उनीहरु सोझै उकालो उसको होटेलमा आये। उनीहरु खाना खानु हिडेका थिए राम्रो रेस्टुरेन्ट खोज्दै।  सबैजना भित्र टेबलमा बसे। केही हाय, हल्लो चल्यो र उसले भनी यो उनीहरुको पुरानो रेस्टुरेन्ट हो। चाइनिज खाना खानु मन लागे आए हुन्छ। मोमो, थुक्पा र चाउचाउ बाहेक मासुभात सबै पाइने।  खाना अर्डर भयो, र भूटानी केटाहरु थिम्पुको होटेल नै सम्झेर भटाभट खान लागे। बियरका बोतलहरुले टेबल पनि सजिए।  

बेला बेलामा मणिकाले काउण्टरबाट डम्बरलाइ हेर्थी, ऊ एकदम फरक थियो, शालीन, बलिष्ठ भुजा भएको, उच्चकोटिको व्यक्तित्व भएको, गोरो, जुँगादारी नउम्रेको वा काटेको। सुन्दर। तर उसको पारिवारिक पृष्ठभूमि उसलाई थाहा थिएन। नाम चाहिं सुनी – डम्बर घले। कताकता उसलाई डम्बर मन परेको जस्तो भान भै रहेको थियो त्यो दिन।

दिनहरु बित्दै गए, कलेजमा डम्बर र मणिकाको मित्रता झ्याङ्गिन्दै गयो तर खुलेर उनीहरु “आइ लभ यू” भन्न सकी रहेका थिएनन्। कलेजमा त्यस्ता कैयौं जोडीहरु थिये जो खुलेआम प्रेमी र प्रेमिका भएको दर्शाउँथे। कलेज प्रशासन आधुनिक थियो, अनुशासन कडा थियो, क्रिस्चियन कलेज थियो, नियमहरू पालन गर्नैपर्ने। तर पनि कलेज बाहिरको सम्बन्धमा कलेजले चासो लिंदैन थियो। त्यसैले पश्चिमी मुलुकमा जस्तो केटाकेटीहरु स्वतन्त्र थिये, आधुनिक विचारधाराका थिए।

डम्बरहरु कलेजको होस्टेलमा बस्दथे, होस्टेल नभनौ तर कलेजले नै व्यवस्था गरिदिएको निजी घरहरू थिए। वार्ड्स लेक माथी डाँडा पारी वृत्ताकार ससाना ती कटेजहरुलाई भूटान हाउस, नेपाल हाउस, नागा हाउस, कलकत्ता हाउस, इत्यादि नामाकरण गरिएको थियो, र त्यहाँका विद्यार्थीहरुलाई एकैसाथ् राखिन्थ्यो । डम्बरको समूह भूटान हाउसमा बस्दथ्यो।

कलेज आएको वर्षको पहिलो नोभेम्बरमा डम्बरले शिलांगको सुन्दरताको भरपूर स्वाद लियो। नोभेम्बरको दोश्रो हप्ता “इन्टरन्याशनल चेरी ब्लसम फेस्टिबल” हुन्छ शिलांगमा। चेरी ब्लसम फुलेर सारा सडकहरु गुलाबीरंगले रंगिएका देखिन्छन। देश विदेशबाट आउने पर्यटकहरु “वाउ, लाइक रियल जापान” भन्दै प्रशंसा गर्दछन्। फेस्टिबलको प्रत्येक दिन मणिका र डम्बर संगै रहे, संगै डुले, संगै खाए। अब आई लभ यू भन्नु पर्ने जरूरी पनि रहेन, दुवै प्रेमको गहिराईमा डुबी सकेका थिए।

This image has an empty alt attribute; its file name is 17359494169825436855446054974608.png

त्यसपछिका महीना र वर्षहरुमा उनीहरु एक ज्यान दुइ शरीर भयेर प्रेममय जीवनमा डुबेका थिए। डम्बरले वाचा गरेको थियो – “मणिका, फाईनल सकेपछि हामी थिम्पु जाने है। “

 मणिकालाइ डर थियो – “के तिम्रो प्यारेन्ट्सले मलाइ स्वीकार गर्लान्, आई एम ए गर्ल फ्रम भेरी पुअर फेमिली। “

 डम्बरले भनेको थियो – “डर मलाइ बाउसित मात्र लाग्छ। उहाँ भूटानको रोयल काउन्सिलर हुनुहुन्छ, व्यवहारमा झ्वाकी, तर पनि आमाको कुरा मान्नु हुन्छ। तिम्रो फोटो मैले गतवर्ष आमालाई देखाई सकेको छु। उहाँले तिमीलाई मन पराउनु भैसकेको छ।  “

मणिकाको मनभित्र केही खुशीका लहरहरु कुदेर गए। उसले भूटान जाने कल्पना गर्न थाली। डम्बरले आश्वासन दिएको थियो – त्यहाँ पुगेर तिमी भुटानी बन्ने छौ, तिम्रो राम्रो क्यारियर बन्छ, हाम्रो बाबाको इन्फ़्लुएन्स चल्छ भुटानमा, तिमी बेकारी भएर घरको काम गर्ने होइन त्यहाँ। तिमी ठूलो सरकारी अफिसर बन्नेछौ वा हामी बिजनेस पनि गर्न सक्नेछौं ।  “

तर त्यति सजिलो कहाँ थियो र। ऊ एकमात्र छोरी, दाजुभाइ पनि नभएको। माता पितालाई छोडेर त्यति टाढा थिम्पु गएर आफ्नो बाँकी जीवन त्यतै विलीन गराउनु ? धेरै असमन्जसता थियो उसलाई। एता आमाबाबालाई कसले हेर्छ ?

केही दुर्बल हिम्मत जुटाएर उसले डम्बरलाइ भनेकी थिई – “तिमी नै यतै आएर बसे हुँदैन डम्बर ? तिमी धनी छौ, कुनै न कुनै बिजनेस गर यतै, हाम्रो प्रेम यहीं चेरीसितै फुलेको हो, हाम्रो जीवन पनि चेरीसितै झरोस् यहींको माटोमा। “

डम्बर पनि बढो असमन्जसमा परेको थियो। उसले पनि मणिकाको सुन्दर शहर छोड्न मन गरेको थिएन। माया बस्यो मणिकासित, माया बस्यो शिलाङ्गसित, माया बस्यो मणिकाको सानो परिवारसित।

दिनभरी खल्तीमा पेस्तोल बोकेर हिंड्ने उसको बाउलाइ यो सहन नहुने पक्कै थियो।

उसले मणिकालाई आश्वासन दियो – “तिम्रो प्रस्ताव मलाइ मन परेको छ मणिका, तर बाबालाई फकाउन समय लाग्छ। आमाको त के चल्छ र, मलाइ शिलाङ्गमा स्थापित गराउन केवल बाबाले मात्र सक्नुहुन्छ। पहिला मलाई फर्किनु देऊ अनि म बिस्तारै मिलाउँदै जान्छु। ”

मणिकालाइ फेरी शंकाले घेर्यो – “मिलाउँदै जान्छौ कि विलाउँदै जान्छौ उता पुगेर ?” 

बोल्दा बोल्दै उसका आँखाहरु भरिएर आये। मोती जस्ता आँशुका थोपाहरुले वेग थाम्न सकेनन्। डम्बर पनि तरल बन्यो, आखिर उसको पनि त मुटु रुन्छ, उसले मणिकाको सम्मान गर्छ, उनीहरु धेरै शिक्षित जोडी हुन्, ऊ चाहन्छ आजीवन मणिकाको खुशीलाई अंगालेर बाँच्न।

समय बित्यो, फाइनल परीक्षा सकियो। अन्तिमपल्ट उनीहरु केही पर रहेको वार्ड्स लेक फेरी पुगे। त्यो सुन्दर तालको बीचमा रहेको काठे पुलको मध्यभागमा पुगेर हात समातेर टोलाई रहे। यो पुलमा उनीहरु कैयौंपल्ट आएर पिरतीका कसमहरु खाएका छन्। अंकमालमा क्षणहरु बिताएका छन्।  छुट्टिनु यसपाली गाह्रो भएको छ, विशेषगरी मणिकालाइ। पोहोरसालको जस्तो होइन यसपाली। कलेजको पढाइ सकिसकेको छ, डम्बर शिलाङ्ग छोडेर थिम्पु फर्किंदैछ।  यसपाली गएपछि डम्बर नआउनु पनि सक्छ, आउनु पनि सक्छ। उसले त आउँछु अवश्य भनेको छ। समय जति लागे पनि पर्ख, म आउँछु आउँछु भनेको छ।

भोलिपल्ट बिहानै गुवाहाटी जाने बसमा पस्ने बेलामा मणिकाले सुकेका चेरीका फूलहरु हत्केलाभरी ल्याएर डम्बरलाइ दिई। “यो राखी राख, सम्झना आउने छ मेरो। “

स्ट्याण्डबाट छुटेको बसगाड़ी  पारी घुम्ती नकाटेसम्म उसले डम्बरलाइ हात हल्लाई रही। डम्बरले देख्यो वा देखेन तर उसको मनले भन्थ्यो उसले देख्यो। तर डम्बरले सबै देखिरहेको थियो। उसको प्रेमिकाको हल्लियि रहेको हात देख्यो, बिछोडको पीडाले लल्याकलुलुक परेको हात देख्यो, तर ऊ पनि विवश थियो, जानु त पर्नेनै थियो आफ्नो घर, आफ्नो शहर, आफ्नो देश ।

समय बितेर गयो। केही महीना पछि कलेजको रिजल्ट निस्क्यो , दुवैजना पास भएछन् । उसले सोची – अब एकदिन हाम्रो दीक्षान्त समारोह हुन्छ, डम्बर डिग्री थाप्नु आउँछ। शायद आमाबाबा पनि साथमा लिएर आउँनेछ या  उसले पक्कै राम्रो समाचार लिएर आउँछ। म पर्खिन्छु उसलाई। 

तर डम्बर गएपछि महिनौं बितेर गए, डम्बरको न चिठी आयो, न फोन आयो, न समाचार आयो। कस्तो विवशता, मणिका आफै थिम्पु पुगेर डम्बरलाइ खोज्न पनि सक्दिन। कहाँ हो कहाँ थिम्पु, फेरी त्यहाँ पुग्नु इण्डिया, नेपाल गए जस्तो हो र। सजिलै कहाँ भुटानको राजधानी पुग्न सकिन्छ र। रुट परमिट कति कति लिनु पर्ने, चेकिङ्ग गराउंदै हिड्नु पर्ने, कति  झन्झट। फेरी डम्बर नै सम्पर्कमा न भएपछि रुट परमिट कसले बनाईदिन्छ ?

शरद ऋतु फर्किएर आयो।  अनि शिशिर लाग्यो , नया वर्षको पोहोरसाल झैँ यसपाली पनि शिलाङ्गमा चेरी ब्लसम बेस्सरी फुल्यो, शहर गुलाबी बन्यो, शहर सिन्दूर रंगले रंगियो। अरु रङ्गका चेरीहरु पनि फुलेर शोभा बढाई दिए। घरमा बस्दा बस्दा विरक्त भएर ऊ बारम्बार वार्डलेक पुग्दै चेरी ब्लसमले रंगिएका बाटाहरु हेर्न पुग्थी र डम्बरसित बिताएका पलहरु सम्झंदै पाइलाहरु सुस्त सुस्त चाल्थी। तर डम्बरको कुनै खबर आएन। 

यकायक झल्यास्स भएर ऊ वर्तमानमा फर्की। उसका खुट्टा गली सकेका थिए पुलमा उभिंदा उभिंदा। कुनै पर्यटकले भीडबाट अन्जानमा उसलाई हल्का धक्का दिएर झसंग बनाइदिएछ।

उ फर्की, सुस्तरी हिंडेर त्यही पुरानो क्याफे पुगी र डम्बरसित सँधै बस्ने टेबलमा पुगेर कफी मगाई। फेरी आँखाहरु रसाएर आए डम्बरलाइ सम्झेर। अचानक यहींनिर भुटानको नया ब्याचको स्टुडेन्ट छिरिङ्गलाइ भेटी, ऊ पनि थिम्पुबाट आएकी थिई सरकारी छात्रवृत्तिमा, एन्थोनी कलेजमै पढ्न । परिचय भयो। कति राम्रो नेपाली बोलेकी छिरिङ्गले।  दुइजनामा एकैछिनमा मित्रता बस्यो।  छिरिङ्ग भर्खरै आएकी रहिछे जबकि मणिकाको तीन वर्षे कोर्स सकिएर अब दीक्षान्त हुन मात्र बाँकी थियो।  

उत्सुकतावश मणिकाले छिरिङ्गलाइ सोधी – “बहिनि, डम्बर घलेलाइ चिन्नु हुन्छ, तपाईं पनि थिम्पुको, ऊ पनि त्यहीं को रे । “

छिरिङ्गले बज्रपात पारी – “ऊ को हो दिदी ? काउन्सिलरको छोरा हो ? हाम्रो कलेजको एल्युमनी होइन? ऊ त मर्यो, दिदी। बाइक एक्सीडेन्ट भयो नि दिदी । “

मणिका स्तव्ध बनी, झन्डै बेहोश भइ।  उसको कानले विश्वास गर्न सकेन छिरिङ्गले के भनि रहेकी थिई।  छिरिङ्ग पनि अवाक् बनेकी थिई मणिकाको परिवर्तित अवस्था देखेर।  

बल्लतल्ल आफूलाई सम्हालेर सोधी – “छिरिङ्ग, प्लीज भन न मलाइ कसरी भयो त्यो सब, कहिले भयो त्यस्तो, ऊ मेरो क्लासमेट थियो, आई कान्ट बिलिभ। ऊ त अब रिजल्ट लिनु पनि आएन रे।  कन्भोकेशन सेरेमनीमा त आउँछ भनेर ढुक्क थिएँ म। कस्तो हाम्रो कलेजलाइ उसको प्यारेन्ट्सले भनेको छैन अझै ? ऊ त रिजल्ट लिनु पनि आएको छैन।  “

छिरिङ्गले भनि – “उसको बाउसंग केही कारणले प्रतिदिन झगडा हुनु थालेको थियो रे । फेरी रक्सी पनि पिउनु थालेछ।   केही काम छ भनेर बाइक लिएर फुन्छोलिंग जाँदै थियो रे, गेदुनिरको पुतली भीरबाट बाइकसितै तल खसेर मरेछ नि, दिदी । चार महिना हुनु आँट्यो त दिदी । “

त्यसपछि मणिकाले अरु सुन्न सकिन। हतार हतार कफीको पैसा तिरेर हुत्तिएर बाहिर निस्की, त्यही बाटो लागी जुन बाटोभरि चेरी ब्लसम फूलहरु एक महिना अगाडीसम्म ढकमक्क फुलेर शहरलाई दुलही बनाइदियेका थिए। सोचेकी थिई शहरसंगै अर्को नभेम्बरमा ऊ पनि यसरीनै डम्बरकी दुलही बन्न सक्छे।

उसले सोची, शायद उसकै दोष होला डम्बरको अकाल मृत्युमा। शायद उसकै प्रस्तावमा बाबुसित खटपट भयो होला र ऊ मानसिक रुपमा विचलित बनेको थियो होला। किन मैले यो दुखद समाचार पहिला सुन्न पाइन। किन डम्बरले ती वाचाहरु बिर्सेर मलाइ छोडेर गयो।  किन तीनवर्षमै हाम्रो बिछोड़ भयो।

पछाडीबाट आएका पाइलाहरुको आहट सुनेर ऊ टक्क अडिई। छिरिङ्ग आएकी रहिछ पछ्याउंदै। वार्ड्स लेकको पानीबाट आएको सिरेटोबाट जोगिन उसले दुपट्टा फेरी टाउकोमा कसी।

“बाई द वे, दिदी , आई केम टू नो योर अफेयर विथ डम्बर दाजु । सो स्याड। एनी वे, लाइफ इज लाइक दिस, दिदी । टूडे इज फर्स्ट जनवरी, आइ जस्ट वाण्टेड टू विश यू – आई विश यू ह्यापी न्यू ईयर” ।

छिरिङ्गका पाइलाहरु फर्की गए, मणिकाका पाइलाहरु सुस्तरी अघि बढे, सडक किनारमा पतझडले नांगिएका चेरी ब्लसमका बोटहरुमा अब केही निखार थिएन, त्यहाँ बर्षेनी आउने झलमल्ल बहार थिएन।  उसले अनुभव गरी – अब उसको जीवनमा पनि कुनै निखार बाकी रहेन। कति छिटो प्रेमीसित विदा हुनु पर्यो।  


नयाँ वर्षको आगमन संगै यो मेघालयको राजधानी हेर्न आउने सयौं पर्यटकहरु मौसम राम्रो रहेकोले वार्ड्स लेकमा झुम्मिएका थिए।  आफै खुट्टाले पेडल चलाउने साना साना डुङ्गाहरुमा हनिमून मनाउने जोडीहरु पुलमुनिबाट छिरेर अर्कोतिर बगी रहेका थिए। यत्र तत्र सेता र काला हाँसका जोडीहरु तैरीइ रहेका थिए।   तालको वरिपरि किनार किनारमा ढुंगा ओच्छ्याएर बनाईएको सुन्दर र लामो पगडण्डीमा मानिसहरु रमाउँदै, ठट्टा गर्दै, फोटो खिच्दै हिडीरहेका थिए।  मौसम खुलेको भएपनि हुस्सु परबाट आउंदै थियो।  चीसो धेरै बढ्दै गएको थियो। 

पोहोर साल पनि पहिलो जनवरीको दिन यही बाटोमा हिंडदा डम्बरले भनेका शब्दहरु सम्झनामा आई रहे – “ह्यापी न्यू ईयर माइ लभ ।”  अनि उसले बेस्सरी अंकमाल गरेको थियो मनिकालाई।  

आँखाभरी आँसु लिएर वार्ड्स लेक पछाडी धेरै टाढा अलिक हाइटमा रहेको ‘भुटान हाउस’ तिर नजर गयो उसको, कतिपय साँझहरुमा लेक घुमी सकेपछि डम्बरलाइ छोड्न धेरैपल्ट त्यो घरसम्म पुगेकी थिई मणिका।  अब त केवल उसको सम्झना मात्र रह्यो।  

जबर्जस्ती रोकेर राखेको आँसुको बाँध फुटी सकेको थियो।  अविरल बग्न थालेका थिए डम्बरसितका यादहरु,  बगेर गइरहेका थिए पहिलो प्रेमका गाथाहरु, कथाहरु, प्रेमिल वाचाहरु। 

शलको फेरोले नयन पुछ्दै यति मात्र फ़ुस्फ़ुसाउन सकी –
‘ह्यापी न्यू इयर माइ लभ ‘ . Open save panel

PostHappy new year story here…