Sandhya
प्रिय मान्छे!
संध्या आचार्य
‘प्रेममा हरथोक जायज छ’ – भन्थिन् यमुना।
सम्झिरहेछु म यत्तिखेर उसको भनाइको गहिराई
अनि घाऊजस्तै यो मीठो प्रेम ।
बकैनाको रुखमाथि रोइरहन्छ त्यही एक्लो जून ।
जूनसंगै गाढा-गाढा बन्दै जान्छ साँझ र सम्झनाहरू मनभरि-भरि
हरेक जुनेली साँझमा
खिपिँदै जान्छ तिम्रो प्रेमको गाढ़ा रगं मभित्र ।
ए प्रिय मान्छे! प्रेम र जून पर्याय हुन् एकार्काका?
‘संयम जूनसंग सिक्नु’- भन्थिन् हजुरामा
हराएको क्षितिजबाट उनी फेरि फर्की आए
सायद एकपटक सोध्ने थिएँ,
प्रेमको अर्को नाम संयम नि रहेछ हगि आमै?
जसरी जूनलाई पालो कुर्नुपर्छ
प्रेम बाँच्न बर्षौं या सारा जीवन कुर्नुपर्छ ।
ए प्रिय मान्छे ! उसो त प्रेम अनुभूत मात्रै गर्न नि सकिन्छ है?
‘प्रेम प्राप्ति होइन’ – भन्थे माइलादाजु
ढाडभरी मकैको सुख्खा ढोडको भारी बोकेर
थाहै नपाइ ढोडजस्तै सुकेका छन् अप्राप्त प्रेमसंगै उनका रहरहरु ।
ए प्रिय मान्छे!प्रेमसंगै फुल्दोरहेछ रहरहरु नि?
मलाई मनपर्दैन टेक्दै-टेक्दै हिँडेको जूनले साँझलाई
सम्झनाहरुले उछिनेर हिढेको मनलाई
जून साँझसंगै हिढोस
सम्झना मनसंगै समाहित होस्
संगै हिढुन र संगै पुगुन् एक प्रेमिल गन्तव्य।
ए प्रिय मान्छे!संगसंगै हिढ्ने भनेकै समयसम्म त रहेछ नि?
एउटा निर्धारित समय ।
आउ,ल्याउ न हात हिढौं संगै एउटा प्रेमको बाटो
या भरौं संगै एउटा प्रेमको उढान
सुरक्षित अवतरणको बिस्वासमा
ए प्रिय मान्छे! प्रेम भनेकै बिस्वासको यात्रा न रहेछ .#
Next poem:
अचिनारु सम्झना
संध्या आचार्य ,सिटोङ्ग
उढ्दै उढ्दै आउँछ एउटा अचिनारु सम्झना
र बसिदिन्छ झ्याप्पै- मनभरी
लाग्छ मन सम्झनाको जङ्गल भएको छ
निर्धारित भुगोल
कुनै साँध, सिमाना छैनन् उनीहरुको
लागु हुँदैन कुनै नियम/कानुन
उडान रोक्नलाई त
झर्नुपर्ने हुन्छ पखेटाबाट प्वाँखहरु
नउड्दैमा पक्षीहरु
रुखहरु सुकेको र जंगल मास्सिएको
दन्त्यकथा सम्म पनि
किन कहिले सुनाएनन् ?
“कुङत्योत्मा गर्नु हुन्न” भनेर बारम्बार भनिरहने हाम्रा निकुङहरुले?
जोड्दै जोड्दै कोम्बोल्याङ र ग्रीका कथाहरू सङ्गै
एकदिन ख्यालख्याल मै
*रुमफात भाकेर
प्रेमिल *रिपजोङले दिएकी रे
युद्धमा निपुण *रोङकपलाई
उपहारमा एउ थान चोङ स्ली
अनि त थुप्रै युद्ध हारेका थिए रे
प्रतिद्वन्द्वीहरुले
रोङकपका जितका कथा सुनाउने
*अज्योङ र *थिकुङहरुले
सुनाए बिरता, सफलताहरु
मुखाग्रै गराए जितेर खडा गरेका ग्रीका नामहरु
सुनाएनन् त कहिल्यै उस्तै गरी
*रोंगकपको *साकनोन र
*रिपजोङको *लेन्छ्योका कुराहरु
हरेक दिन मर्न दिइरहे
मन भित्रभित्रै प्रेमका यी अमर अजर कथाहरू
सम्झिएर कि वीरता अघि बेकाम छ प्रेम
प्राप्ति त युद्ध जित्नुमा छ
रहिरहन्नन् सम्झना सधैभरी
रहने त रणकौसल हो
युद्ध कौसल हो र जीत हो
या कुनै दिन झर्नेछ उस्तैगरी प्वाँख
अनि बिस्तारै पखेटाहरु
अनि त रोकिनेछ प्रेम र सम्झनाको उडान
तिमीले बताइदिनू कि
युद्दको पुर्व तयारीमा पनि प्रेम चाहिन्छ
हिम्मत, आँट र बिस्वास चाहिन्छ
युद्ध पछिको कुरुप अवशेषलाई संगाल्न पनि प्रेम नै त चाहिन्छ
प्रिय *रोङकप !
प्रेममा जित्नेहरुले नै त जितेका छन् हरेक युद्धहरु नि ?
यही बिश्वासमा त म पनि
एउटा प्रेम कथा निश्चय लेख्नेछु
पुरा होला कि अपुरा
प्राप्तीको होला कि गुमाउँदाको
जीतको होला कि हारको
भ्यालेन्टाइनको पुर्व सन्ध्यामा
*रुमफात भाकेर
ख्याल गरेरै दिन मन छ
जिन्दगी सङ्ग हरदम हारिरहेको एउटा मान्छेलाई
एउटा रिप् बुम
ता कि भोलि हेर्न सकियोस
उसका हजारौं जितहरु
अनि बुझ्नेछन् *थिकुङहरुले
कि, चोङ स्ली जत्तिकै शक्तिशाली हुनसक्छ
एउटा *रिपबुम्
हरेक दिन जिन्दगीको युद्द जित्नलाई ।
- कुङ त्योत्मा :रुख काट्नु
*रुमफात :सर्व शक्तिमान
निकुङ थिकुङ :बोजु बाजेहरु
अज्योङ :मामा
साकनोन :सम्झना
लेन्छ्यो :प्रेम
चोङ स्लि: धनुकाँड
रिपबुम् :फूल गुच्छा