(आमा प्रकाशन, मादारीहाट, डुवर्सबाट अगस्त २०२६ मा प्रकाशित समसामयिक कथाप्रधान साहित्यिक पत्रिका “यात्री” मा प्रकाशित कथा)
- रतन छेत्री, दलसिंहपाडा, डुवर्स (हाल : लण्डन, यूके )
***
साँझको आठ बज्यो,
स्कूलभवनभित्र विद्यार्थी, अभिभावक र शिक्षकशिक्षिकाहरु कोही भुइंमा, कोही बेन्चमा, कोही कुर्सीमा बसेर मंचतिर बारम्बार हेर्दै कतिबेला पर्दा खुल्छ भनेर अधीर बनेका थिए ।त्यो दिन भानुजयन्तीको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम थियो हाम्रो स्कूलमा; नाटक, गानाबजाना, भानुभक्तीय रामायण पाठ आदि आइटमहरु प्रस्तुत हुन गइरहेका थिए ।
कसैले मंच भित्रबाट माइकमा घोषणा गरे – ‘कृपया शान्त भएर बसिदिनु होला, अब हाम्रो कार्यक्रम शुरु हुँदैछ ।
देब्रे र दाहिनेतिर उभिएका दुइजना विद्यार्थीहरुले बिस्तारै मंचको पर्दा खोलिदिए ।
कार्यक्रमको शुरुवात आदिकवि भानुभक्त आचार्यको ठूलो तस्वीरमा माल्यार्पणबाट गरियो, छ: जना विद्यार्थीहरुले भानु वन्दना सुनाए, अनि प्रधानाध्यापक र अर्का शिक्षकले भानुभक्तीय रामायणका केही श्लोकहरु पढेर सुनाएर भानुलाइ सम्झे, प्रणाम गरे र नेपाली भाषामा रामायण अनुवाद गरी जनसमक्ष ल्याइदिनु भएकोमा भानु बाजेप्रति श्रद्धान्जली सहित प्रचुर आभार र सम्मान प्रकट गरे।
म दर्शकहरुको भीडभित्र निकै पछाडी उभिएर अर्को आइटमको प्रतीक्षामा थिएँ । मेरी सहपाठी निरुले कानमा खुसुक्क सुनाइ – “चन्द्रकलाको पनि एउटा आइटम छ, हेर्नु ल। दामी गीत लिएर आउंदैछे ।”
मैले चन्द्रकलालाई न पहिले देखेको थिएँ, न चिनेको नै । म धेरैबर्ष त्यही विद्यालयमा पढेको भएपनि कक्षा आठ सकेपछि अर्को टाढाको स्कूलमा भर्ना हुन पुगें । संयोगले त्यही साल चन्द्रकला भुटानबाट मेरै पुरानो स्कूलमा भर्ना हुन आएकी रहिछिन् । म उता गएँ, उनि एता आइछिन् , कस्तो संयोग। होइन होइन, कस्तो वियोग भनौं ।
उनका जयगाउँका साथीहरु थुप्रै थिए पहिला देखिनै मेरो स्कूलमा पढ्दै गरेका। त्यसैले आएको केही हप्तामै उनले सुनेकी रहिछन् मेरो बारेमा कतिपय कुराहरु। शायद उनलाई त्यो वर्ष मसित पनि भेट हुन्छ कि जस्तो लागेको थियो होला, तर कस्तो विस्मात्। उनि आइन्, भर्ना भईन् , कक्षा आठमा , म भने त्यही साल अन्तै गैसकेको थिएँ। केही दिनपछि थाहा पाइछन्, मैले स्कूल छोडी सकेको रहेछु भनेर। दुख मानिछन् । चिनजान थिएन, हेराहेर पनि थिएन, तर हावाले ल्याएको खबर न हो कुनै मीठो, कुनै तीतो। उनीहरुको ग्याङ्गमा मलाइ मन पराउनेहरु अरु पनि थिए, शायद नट्खटे गफ हुन्थ्यो होला को कस्तो छ को कस्तो छ भनेर। शायद कसैले भनेकै भरमा उनि मप्रति बित्थामा आकर्षित भएकी थिई होलिन् ।
जून जुलाइमा हाम्रो पनि लामो विदा थियो गर्मीको। भानु जयन्ती मध्य जुलाइमा परेको थियो। झन्डै नौ वर्ष पढेको स्कूलमा भानु जयन्ती हरेक साल भव्यरुपमा मनायिन्थ्यो , तर मेरो नयाँ स्कूल भने इशाई मिसनरी अन्तर्गत भएकोले उता त्यस्तो चलन थिएन।
विदाको अवसर परेकोले आफ्नै पुरानो स्कूलमा हुन लागेको भानु जयन्ती सांस्कृतिक कार्यक्रम हेर्न हतार हतार पुगें। दिउँसै हल्ला चलेको रहेछ म पनि कार्यक्रम हेर्नु आउंदैछु भनेर। शायद उनले पनि सुनिछ्न् । मैले पनि सुनेको थिएँ उनि साँझको कार्यक्रममा भाग लिएकी छिन् भनेर। यो खबर यता र उता पार्ने मेरै छिमेकी थिई नीरु थापा । नीरुले उनको खूब तारीफ गरेर मलाइ जिस्काउँथी । “म तिमीलाई उसित भेट गराउँछु ल आजु” भनेकी थिई नीरुले।
मेरो मनमा पनि उत्सुकता बढेको थियो उनलाई हेर्ने र उनीसित परिचय साट्ने । फोटो देखेको थियिन, कस्ती छिन्, कत्री छिन् , थाहा थिएन, नाम र थर थाहा भएको थियो, थर कार्की रैछ उनको। केटीले केटा हेर्ने र जिस्काउने अनि केटाहरुले पनि केटी हेर्ने, मन पराउने, जिस्काउने को-एजुकेशन भएको हाइस्कूलमा जहाँ पनि हुन्छ। पाँच – छ क्लासदेखि नै चर्तीकला शुरु भएको पनि हुन्छ। हामी त एट-नाइनका , चौध साल काटेका। आकर्षण त हुनेनै भयो।
साँझ झमक्क परेपछि स्कूल पुगें । सांस्कृतिक कार्यक्रम शुरुहुनै लागेको रहेछ। पुराना साथीहरुसित भेटभयो अनि हामी हंसीमजाक गर्दै स्कूलहलतर्फ लाग्यौं। लामो भवन थियो तर बीचबीचको काठको पार्टिशनहरु निकालेपछि सबै कक्षाकोठाहरु एउटा विशाल हलमा परिणत बनेको थियो ।
शुरुवाती एक दुइवोटा प्रस्तुतिपछि उद्घोषण सुनियो – ‘अब आउँदैछिन फुन्छोलिंग भुटानकी चन्द्रकला कार्की आफ्नो सुमधुर गीत लिएर। ‘
नीरु मसितै थिई, कुइनोले घोची मलाई। ‘ऊ, तिम्रो हिरोइन आउँछे अब’ ।
कस्तो रिस उठाउने केटी थिई नीरू।
बन्द भएको पर्दा खुल्यो, मन्चमा केही वाध्यवादनहरु बज्न थाले। देखें – मेरा पुराना साथीहरु दावा दाजु, श्याम मोक्तान, प्रेम दाहाल आदि वाध्ययन्त्र बजाउन थालेका थिए। अनि बीचमा माइक्रोफोन अघि उभिएकी थिई चन्द्रकला । अलौकिक रुपकी धनी, साक्षात् सरस्वती माताजस्ती।
मेरो त एकछिन सास नै अडियो। कति राम्री, काली काली, सुन्दर आँखा, लामो कपाल, ओंठमा हल्का लिपिस्टिक। उनको रुपमा नै मुग्ध भएछु। पहिलोपल्ट उनलाई आफुअघि देखी रहेको थिएँ। उनले गाउन शुरु गरिन् –
“हर रात मेरा नीद हरुलाई चीसो बतासले उडाई लान्छ,
बिहानी पखको मिर्मिरेले मलाई नै बिउंझाई दिन्छ।”
कति मीठो स्वर, कति मीठा शब्दहरु, खै कसले लेखेको गीत हो। मनमै बस्यो सदाकोलागि।
त्यसपछिको अन्तरा वा अरु थप लाइनहरु मैले सुनें कि सुनिन भन्न सक्दिन। मेरो ध्यान नै चन्द्रकलाको रूपमा अडिएको थियो।
केही बेरमा उनको गीत सकियो, तर मलाइ लाग्यो उनले अझै गाइरहे पनि हुने, खल्लो लाग्यो जब ताली बज्यो अनि पर्दा फेरी बन्द भयो। म बेचैन बनें। नीरुलाई सोधें, ‘मसित भेट गराइदिने भनेकी होइन ? फेरी भेट होला नहोला। ‘
“पर्ख न हौ , के को हतार ?” नीरु झर्की मसित।
अर्को प्रस्तुति थियो एउटा नाटक, जसलाई हाम्रै गाउँका युवा नाटककार, कलाकार किशोर रानाले निर्देशित गर्दै आफूले पनि अभिनय गरेका थिए। मनबहादुर मुखियाद्वारा लिखित चर्चित नाटक ‘अँध्यारामा बाँच्नेहरु’ को मन्चन शुरु हुनलागेको थियो। तर नीरु र म बाहिर निस्कियौं। बाहिर हल्का अन्धकार थियो।
उसले मलाइ तानेर लगी। स्कूलसंगै पछिल्तिर टाँसिएको एक कोठे डेरा थियो चौकीदार दम्पतिको। नीरु र म चौकीदारको कोठातिर गयौं। त्यहाँ जैगाउँ र भुटानबाट आएका केटीहरु अर्को यौटा गीतको रिहर्सल गर्दै रहेछन् । चन्द्रकला त्यहीँ व्यस्त थिई।
अनि मेरो प्रवेशसंगै अचानक जम्का भेट भयो। मेरो र उनको। उनको सुन्दरता अद्वितीय लाग्यो, उनले मलाइ चिनिसकिछ्न् , मैले आफ्नो परिचय गराई रहनु परेन।
“नमस्ते दाजु “, उनको हात उठ्यो।
करैले ‘नमस्ते’ फर्काएँ, मुग्ध थिएँ उनलाई देखेर। बोली पनि कति मीठो रहेछ। म भन्दा अलिक होंची, पातली, काली । अँधेरो थियो त्यता, धेरै बेर उनलाई नियाल्नु सकिन।
नीरुले उसलाई तानेर बाहिर ल्याई अनि हामीलाइ एक अर्काको सन्मुख उभ्याई दिई। हाम्रो बोल्ने शब्द थिएन। पूर्णिमाको छेक थियो, बर्खे बादलले छेक्न नसकेको जून टहटह लागेको थियो। साँझ छिप्पिंदै गएको थियो। उता स्कूल हलभित्र नाटक शुरु भईसकेको थियो।
“लु, अब धीत मरुन्जेल हेर अनि बात गर तिमारु ” भन्दै नीरु बाहिर निस्किई।
हामी एकअर्कालाई हेरी रह्यौँ, तर केही क्षणमात्र। के भन्ने , के बोल्ने ? उनको साथी सरिता आइपुगी र उनलाई तानेर लगी। जाँदा जादैँ सरिताले मलाइ आँखा तर्दै भनि – “के मक्ख परेको हौ तिमारु दुइजना यस्तो बिजी भाको बेला। आउने शनिवार आउनु नि ल त्यो गोपीमोहन चियाबारी नजिकको गुवाबारीमा, पिकनिक छ। तुर्सा खोलाको डिलमा। “
सांस्कृतिक कार्यक्रम अन्तत: सकियो करीब दुइघण्टा पछि। रातको दश बजेको थियो, हामी स्थानीयलाई त केही हतार थिएन तर जैगाउँ र भुटानबाट आएकाहरुलाइ पुर्याइदिने मिनीबस एकैछिनमा भरियो। देखें, चन्द्रकला फर्किन लागेकी रहिछन् । नीरुलाइ बोलाइन् , उनीहरुमाझ केही कुरा भए, म भने अलिक टाढै उभिएर चन्द्रकलालाई हेरी रहेको थिएँ। केहीबेरमा उनि मलाइ हात हल्लाउँदै बिदा भईन् । मिनिबस स्कूलको कम्पाउण्ड बाहिर पुगिसकेको थियो। अन्धकारले गर्दा धेरैबेर चन्द्रकलालाई देख्न सकिन।
भोलिपल्ट चन्द्रकलाले पनि मलाइ निम्तो पठाईछिन् नीरु मार्फत। आउने शनिवार जैगाउँको गुवाबारीमा भेट्ने, पिकनिक खाने। म रोमाञ्चित बनेको थिएँ। कहिले शनिवार आउला र जाउँला उनलाई भेट्न।
अनि ……शनिवार आयो, तर अफसोस्, पिकनिक त क्यान्सिल भएछ। कोनि कसको आफन्तको अघिल्लो दिन निधन भएकोले हाम्रो प्रोग्राम नै रद्द गरेर अर्को हप्तालाई सारेछन् ।
उता मेरो नयाँ स्कूलको गर्मीको विदा सकिएको थियो र म त्यही आइतवार नै नयाँ स्कूल फर्किएँ, जहाँ म होस्टेलमा बस्थें। करीब साठी किलोमिटरको दूरी थियो हाम्रो गाउँबाट त्यो आवासीय मिसनरी स्कूल।
समय बितेर गयो। म होस्टेलमै बसें। मनमनै धिक्कारें आफैलाई, बित्थामा यही साल मलाइ एता आउनु परेको। वास्तवमा चन्द्रकलासितको क्षणिक भेटले मेरो मनै हरेर लागेको थियो, म उनलाई फेरी एकपल्ट भेटेर लामो कुराकानी गर्न चाहन्थें। अर्को साल फेरी फर्केर पुरानै स्कूलमा आउँनु पर्ला कि के हो जस्तो मन पनि भयो।
डिसेम्बरमा बडा दिन अर्थात क्रिसमस आयो, स्कूलमा बडाखानाको आयोजना भएको थियो। त्यसपछि स्कूल छुट्टी भयो दुइ महिनाकालागि । म घर फर्किएँ। उता गाउँमा हाम्रो पुरानो स्कूल झन् छिटो बन्द भएछ जाडो यामको विदाकोलागि। दुर्भाग्यवश उनीसित भेट हुन सकेन । नीरुलाइ सोधें, उसले भनी – “अब फेब्रुअरीमा अर्को सेसनको बेला आउ न ल । कहीं जाँदिन त्यो क्या। “
तर कस्तो विडम्बना फेरी। उनि अर्को साल फर्केर आइनन् त्यो स्कूलमा। उनको आफन्तले उनलाई त थिम्पुको स्कूलमा भर्ना गरिदियेछ्न् किनकि उनको मामाको त्यहाँ सरुवा भएछ। उनि भुटानको सरकारी जागिरे थिए।
त्यसपछि फेरी हाम्रो भेट हुन सकेन। पढाइ चलिरह्यो, पढाइपछि नोकरी पनि शुरु भयो। थिम्पुको पढाइ सकेपछि उनको पनि पूर्वी भुटानको गेलेफु स्कूलमा टिचर नोकरी लागेछ । म भने बेकारी जीवनदेखि आजित भएर सिक्किमतिर हान्निएँ कामको खोजीमा र अस्थायी रुपमा गान्तोकको एउटा प्रोजेक्ट्मा काम गर्न थालें। चन्द्रकलाले मलाइ सम्झी रहेकी थियिन् वा भुलिन् , त्यो मलाइ थाहा भएन तर मलाइ चाहना थियो एकपल्ट उनलाई भुटानमै गएर भेट्छु भनि ।
अनि अनायास,
करीब एक दशकपछि एकदिन कालिम्पोंगमा मोटरस्ट्याण्ड निरको ‘प्रवासको भुजा दोकान’ मा उनीसित दैवसंयोगले जम्काभेट भयो। हामी दुवै आश्चर्यचकित भयौं, स्तव्ध पनि। पत्याउनै सकिन। तर चिनिहालें।
उनको मुखबाट फुत्क्यो, “अप्पुई, तपाईं रतन दाजु होइन ? तपाई याहाँ ?, कस्तो अचम्म, नमस्ते। कस्तो जस्ताको तेस्तै हौ तपाइँ, एभरग्रीन मान्छे’ , अनि छोडिन् मीठो मुस्कान, त्यही मुस्कान जुन मैले बर्षौ अघि जूनको धमिलो प्रकाशमा देखेको थिएँ।
वर्षौंपछि चन्द्रकलाको दर्शन मिल्यो, अलिक अधेड़ भैछ्न् तर रुप उस्तै थियो, आँखाका डीलहरु खुम्चियेछ्न् , आँखा मुनि काला काला धब्बाहरु प्रस्टै देखिन्थे। प्रौढकालले घेरेको रहेछ।
“यतिका वर्षपछि पनि मलाइ कसरी चिन्न सक्यौ चन्द्र ” मैले पनि सोधें ।
“भानु जयन्तीमा भेटेको बिर्सिनु भो ? मैले त बिर्सेकी छुइन है दाजु, तपाइँलाइ आज त्यही रुपमा देख्दैछु । कति खोजें, कति सोधें, तपाई त गाउँ घर छोडेर कता कता जानु भयो रे।“।
मनमा च्वास्स घोच्यो। हो त, स्कूलको पढाइ सकिएपछि नोकरी खोज्ने बाध्यताले विवश थिएँ। घरमा केवल आमामात्र हुनुहुन्थ्यो। मलाइ रोक्नु भएन। म सिक्किम, त्यसपछि नेपाल पुगें। नीरुको पनि विवाह भएर चेङ्गमारी बसाइ सरिछ। चन्द्रकलासित मेरो सम्पर्क कहिले हुन् सकेको थिएन, केवल सम्झनामा मात्र थिईन् उनि।
उत्तिबेलै “को हो ममी?” भन्दै एउटी बालिका अगाडी आई । उनले शायद केही भनिन् नानीको कानमा, मैले बुझिन। नानीले मलाइ ‘नमस्ते अङ्कल’ भनि दुइ हात जोडिन।
मैले भनें – “मेरो दुइजना नानीहरु नौ माइलमा रकभेल एकेडेमीमा पढ्दैछन् , त्यहींको होस्टेलमा बसेर, म तिनीहरुलाई भेट्नु आएको आजै काठमाडौँबाट, हरेक साल आउने गर्छु । “
उनि छक्क परिन् – “अप्पुइ ! मेरो यो दुइजना छोरीहरु पनि रकभेल मै त हो नि दाजु।, होस्टेल मै हो नि । म पनि यसैबेला आउने गर्छु भेट्न। “
मलाइ चक्कर लाग्यो केही बेर। कस्तो संयोग, अनि फेरी कस्तो वियोग थियो हाम्रो। लामो हेराहेर गर्यौं फेरी, अनि उनको मंगोलियन अनुहार भएको श्रीमान चियानास्ताको बिल तिरेर आये, तर उनले उसको परिचय मसित गराइनन्। मैले आभास पाएँ उनको श्रीमान् हामीलाई देखेर खिन्न भएको थियो। हतार हतार छोरीहरु तान्दै अगाडी बढेर गयो।
“रतन दाजु, माफ गर्नु होस्, हाम्रो भेट हुन् सकेन येतिका वर्षसम्म । मैले नखोजेको होइन, तपाइको अत्तोपत्तो नै पाइन। चिट्ठी लेखेर पठाउने ठेगाना धरी थिएन मसित। एकपल्ट जैगाउँ आउनुहुँदा भेटुम न है, नीरुलाइ भनि राख्छु। “
मैले अनुभव गरें चन्द्रकला विवश थिईन् , शायद मसित धेरै कुरा गर्न चाहन्थिन् , म पनि त्यस्तै चाहान्थें। तर हामी दुवै विवश थियौं, मसंग समय भए पनि उनीसित थिएन, स्थान ठीक थिएन। परिस्थिति हाम्रो अनुकुल थिएन। उनीहरु विस्तारै ओरालो हाटबजार जाने बाटोतिर लागे। म भने भावशून्य बनेर त्यहीं उभिई रहें धेरैबेर। बर्षौं अघिको त्यो भानु जयन्तीको जुनेली साँझमा उनीसितको प्रथम भेट सम्झेर उनलाई परसम्म हेरी रहें, आँखाबाट ओझेल नहुन्जेलसम्म।
समाप्त :
