प्रिय जून ….

आज कोजाग्रतको रात कसैले तिम्रो
तस्वीर खिचेर पठायएको संदेश प्राप्त भयो
पठाउनेको मर्म बुझें, आर्तनाद सुनें भावविह्वल भएँ।
तिमी जसरी टाढामा छौ, म पनि उस्तै त छु नि
तिमी जसरी मौनतामा चिसो खपेर बसेकी छौ
म पनि उस्तै गरि बसेको त छु नि।
आज मैले पनि तिम्रो तस्वीर खिचें,
चिसो रातमा खुल्ला थियो आकाश,
ताराहरु थिए, तर वायु शून्य थियो।
संदेश सम्झें, तिम्रो दाग नियालें, तर उदास भईन म।
किनकि
यो संसारमा बेदाग पो को छ र।
तिमी त जून हौ, तर दागले तिम्रो उज्यालो कहाँ छेक्थ्यो र।
कुनै दिन बादल लागेको पूर्णिमाको रातमा,
म केवल सम्झिन्छु तिम्रो उज्यालो मुहार
नौं डाँडा पारी मात्र होइन, सात समुद्र पारी छ्यौ तिमी
तर पनि तिम्रो पूर्ण मुहारको दर्शन मनमा सजाएर राखेकै छु।
तिम्रो पूर्ण उज्यालोको स्पर्श पाएकै छु।
उदास भएर व्यर्थै मनलाई स्यानो नबनाऊ,
तिमीलाई खोट कसैलाई लगाएको होइन
तिमीमा मैले कहिले खोट देखिन, देख्दिन।
तिम्रो विश्वासमा कुनै घात भएको छैन।
बाहिरी खोट त कति होलान् तर मेरो लागि त पवित्र छौ तिमी
दागलाई बरु म तिम्रो गालाको कोठी सम्झिन्छु।
त्यो नभईदिएको भए के तिम्रो
सुन्दरता अझ धेरै खुल्थ्यो र जून ?
यसपालि येति नै, अलविदा दशैं 2025 !
Leave a Reply