लालमानको सम्झना। ……
रतन थापा, दलसिंहपाड़ा (डुवर्स), हाल – बेलायतमा।
बिहानीको पांच बजेको थियो, म मस्त निन्द्रामा थिएँ . अघिल्लो रात गुलशन नन्दाको उपन्यास ‘घाट का पत्थर’ धिब्री बत्तीको मधुरो प्रकाशमा पढेर सुत्दा मध्यरात भन्दा धेरै बितेको थियो .
अचानक निन्द्रा भंग भयो, आमाले दैलो ढकढक गरेर बोलाई रहनु भएको थियो – ‘ओई, उठ त . बाहिर तेरो साथी आको छ’.
रीस पनि उठ्यो, कुन चाहिं फेरी यो बेला आइपुग्यो . राम्रो सुत्नु पनि पाएको थियिन . जुरुक्क उठेर आँखा मिच्दै दैलो खोल्न पुगें .
‘खोइ को आयो आमा ?’
‘लाखमान आको छ तेरो साथी, ऊ गेटमा उभिएको छ, तलाई भेट्नु आको रे .’
हिजो छाडी अस्ति त भेटेको त्यो मोरोलाइ, फेरी एकाबिहानै के हो एस्तो ? सोच्दै गन्जी माथी कमेज भिरेर बाहिर निस्किएँ . गेटमा देखें लालमान उभिएको रहेछ, उसको साइकल त्यहीं अडिएको थियो हाम्रो शरीफाको रुखमा.
‘के हो साथी, एकाबिहानै ? आइज भित्र, चिया खाउँ ‘. गेट खोलिदियें।
आमाले थप्नु भो – ‘ आउ नानी भित्रै, चिया तयार छ. म पनि ६ बजी त काममा जानु पर्छ .’
उसले मानेन . ‘होइन आमा, पछि खाउँला . यो रतनलाइ लिनु आएको मात्र हो, हतार छ . ६ बजी बगानको गेटमा पुग्नु पर्छ हामी आज .’
मतिर फर्कियो ऊ . ‘हिड लुगा लगा छिटो . आज गेट मिटिंग बोलाको छु, तैले पनि त्यहाँ केही बोलिदिनु पर्छ . अरु सबै मतलबी छन . तँ मात्र मेरो पक्का साथी होस्, छिटो गर, तेरो साइकल छ होइन ?’
‘छ’
एकछिन पछि हामी कमाने लेबर बस्तीबाट बाहिर पिच् रोड पुगिसकेका थियौं . करीब दश मिनटपछि हामी दलसिंहपाड़ा चिया बगानको कार्यालय अगाडी पुग्यौं . त्यहाँ करीब बीस पच्चीसजना मरद र औरत लेबरहरु, काम्दारी, चपरासी, चौकीदारहरु उपस्थित थिए . गेट बन्द थियो. सदा झैँ ६ बजी भित्र पस्ने गोदामका कर्मीहरु पनि भित्र पस्न पाएका थिएनन् . प्रबन्धकले गेटमा ताला मारी दिएछ .
खोइ कताबाट एउटा अग्लो टेबुल त्यहाँ ल्याइएको रहेछ र केही साथीहरु पनि आइपुगे .
लालमान चढ्यो टेबुलमाथी . त्यतिन्जेल सयजना जति भेला भैसकेका थिए त्यहाँ . त्यसै पनि लालमान स्थानीय गोर्खालीहरुको नेता जस्तो भैसकेको थियो र उसको जोडदार भाषण सुन्न सबै उत्सुक हुन्थे . आज यो लाखमानले के भन्ने भो भन्ने प्रतीक्षामा थिए .
मलाइ बाटैमा थाहा भएको थियो आज हामी केही शिक्षित युवाहरुलाइ बगानको अफिसमा खाली भएको पोष्टमा अन्तर्वार्ता दिईसक्दा पनि म्यानेजमेन्टले बगान बाहिरको दुई बंगाली र बगान कै एक नेपालीलाइ नियुक्ति दिएको रहेछ . बाबु कामको लागि, अर्थात् क्लर्क . भेकेंसी निस्किंदा नै बी.कम. पढेको हुनुपर्छ भनेर अड्को थापेको थियो किनकि उनीहरुलाई थाहा थियो हाइस्कूल भन्दा माथी पढ्नेहरु नगण्य थिए भनेर। मैले पनि म्याट्रिक (माध्यमिक ) मात्र पास गरेको थिएँ . लालमान कालेबुंग एस यु एम आइ गएर हायर सेकेन्डरी अर्थात् एघार क्लास सकेर आएको थियो . बगानकै स्कूलमा पढेर दश कक्षाको बोर्ड फाइनल परीक्षा हामीले धेरै टाढा अलिपुरदुआर सेन्टरबाट दिएका थियौं .
एघार पढ्न ऊ कालेबुंग गयो, म चाहिं फुन्चोलिंगतिर गएर काम गर्नु थालें . लालमानको पिता सार्की लामा बगानमा काम्दार्री थिए, तर उनीहरुको आफ्जनो जग्गा धेरै थियो, हाम्रो थिएन, हामी त लेबर क्वार्टरमा बस्थ्यौं .
लालमान कालेबुंग पढेर आएर बाठो त भएको थियो तर पनि ऊ स्कूल देखिनै हरेक विधामा अगाडी थियो , पढ्नुमा बाहेक . भलिबल, हाइ जम्प, लांग जम्प, रेसिंग, आदि खेलकूदमा पहिलो पुरस्कार उसैले हात पार्थ्यो .
लालमान मान्छे डडाक थियो . अग्लो थियो, जिउडाल हृष्टपुष्ट थियो, तर उसले कसैलाई हेप्दैन थियो। स्थानीय जनताको दुख सुखको साथी थियो ऊ। उसमा नेतृत्व गुण सानैदेखि हावी थियो। आफ्नो जातिको मान्छेको समर्थन र सहयोगको लागि अगाडी आउनु उसको रुचि थियो . तर एकदिन फुटबल खेल्दा बाबुलाइन कै यौटा बंगाली केटोलाई थप्पड हानेपछि बंगालीहरुको आँखामा छारो बनेको थियो ऊ। किनकी त्यसले ‘साला नेपाली ‘ भनेको थियो।
स्थानीय श्रमिकहरुको मांग थियो बगानको अफिसमा नोकरीको लागि ठाउँ खालि भए योग्य छोरा छोरीलाइ नै प्राथमिकता दियिनुपर्छ। तर जानाजान उच्च योग्यता तोकेर स्थानीय उम्मेदवारहरुलाई पन्साउन बंगाली बडा साहेब र छोटा साहेबहरुको मिलोमितो हुन्थ्यो। तर लालमानले भने यही कुरालाई मुद्दा बनाएर जनसमर्थन बटुलेर आज त्यो टेबुलमा चढेर आफ्नो अवाज बुलन्द गर्दैथियो। हाम्रा अगाडी जम्मा भएको भीडलाई सम्बोधन गर्दै उसले भन्दै गयो – ‘हामी पनि शिक्षित छोरा – छोरी हौँ, हामीले पनि बाहिर गएर पढेर आएका हौँ। डिग्री छ, सर्टिफिकेट छ। तर हामीलाई खोइ मौका ? ‘
कुनैपनि बाबु वा म्यानेजरलाइ गेटभित्र पस्न दिएनन् भीडले। माँग थियो पहिला हाम्रो कुरा सुनिदिनु अनि हामी जान्छौं। धेरै समय लिदैनौं।
उसको पछि मेरो पालो आयो टेबुलमा चढेर नेताले जस्तो बोल्ने। म सोझो मान्छे तर एउटै स्कूल र एउटै कक्षामा पढेको साथी लालमानको करले म त्यहाँ बोल्न पुगेँ। मैले पनि हाइस्कूल पास भएको स्थानीय श्रमिकको छोरा भएर पनि बगानले काम दिएन भन्ने जस्ता कुराहरु बोल्दै अर्को महीना हुने छनोट प्रक्रियामा हामीलाई पनि बोलाइनु पर्छ अन्तर्वार्तामा भनेर कुरा राखें।
भीडबाट एउटा आदिवासी केटो आएर बडासापले पुलिस बोलाको छ रे, हिड है अब कामतिर भनेको सुन्ने बित्तिकै लालमान गर्जियो – ‘लु त् हेरुम तेस्को बाउको पुलिस, हामीले आफ्नो मांग पनि बोल्नु नपाउने ? यो मेनेजरले बढी धमास देखाउनु थाल्यो भने म यो बगानमा अनिश्चितकालिन हड्ताल गराइदिनु सक्छु बुझ्यो बडा साहेब ?’
‘हो हो , हड्ताल गरिदेऊ लालमान , यिनीहरुले अति गरेका छन् ‘.
तर कुनै पुलिस आएन हामीलाई पक्रनु। तर मेनेजमेन्टले भने हाम्रो नाम टिपेर राखेछ आन्दोलनकारी भनेर।
केही बेरमा लालमानले गेट मिटिंग समाप्त पार्यो। अनि हामी घरतिर लाग्यौं। यो घटना करीब सन् १९७७ तिरको हो।
सन् १९८० तिर दलसिंहपाडामा अखिल भारतीय गोर्खालीगले सम्पर्क कार्यालय खोलेको थियो जसमा दार्जिलिंगबाट नेता मदन तामांग र नेत्री रेनुलिना सुब्बा बेलाबेलामा आउंथे र स्थानीय नेताहरु सित भेट गर्दै संगठन बलियो बनाउने , बिस्तार गर्ने कुरा गर्थे।
‘जय गोर्खा ‘ को नारा घंकिनु थालेको थियो तर बगानमा अरु समुदायका मानिसहरु पनि बस्थे। आदिवासी र गोर्खाहरु बहुसंख्यक भएता पनि बिहारी , बंगाली , मारवाडी, मुसलमानहरु पनि अल्पसंख्यकको रुपमा थिए। तिनताकै नेपाली भाषाको मान्यताको आन्दोलन शुरु भएको थियो जसमा म लगायत लालमान र अन्यान्यहरुले सक्रिय सहभागिता जनाएका थियौं।
त्यही बेला लालमान दार्जिलिंगका सुवास घिसिंगको सम्पर्कमा आयो र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो ) को सदस्य भएर अलग राज्य गोर्खाल्याण्डको लागि समर्थन जुटाउन थाल्यो हाम्रो थलोबाट। संगसंगै उसले चियाबगानका श्रमिकहरुको भरपुर समर्थन पायो र रातारात ऊ एउटा प्रभावकारी नेता बन्यो। उसले चाहेमा बगानमा काम पनि बन्द गराई दिन्थ्यो।
लालमानका पिता थिए सार्के तामांग , जो कामदारी र बगानको चियापत्ती प्रसोधन गर्ने गोदाममा काम गर्थे। उनको पनि चाहना थियो त्यत्रो कालेबुंगबाट प्रतिष्ठित हाइस्कूलबाट पढेर आएको छोरो लालमानले बगान् मै राम्रो काम पावोस , अर्थात बाबुकाम (क्लर्क) काम पावोस।
तर बगानले टेरेन। लालमानले अर्को मांग तेर्सायो। बगानमा ‘निजा ‘ (स्थायीरुपमा) काम गर्नेहरुको छोरा छोरीले पनि बगानमा निजा नाम पाउनु पर्छ। त्यो चाहिँ बगानको मालिकहरुले नमाने पछी उसले आन्दोलन छेड्यो। प्रशासनले पुलिस मगायो र हड्ताल खोलायो , अनि लालमानको पछी लाग्यो पुलिस।
गोर्खाल्याण्डको माग चर्किंदै गएपछि बङ्गाल सरकारले अर्धसैनिक बल केन्द्रिय रिजर्भ पुलिस (सी आर पी) को बटालियन डुवर्समा पठायो। सीआरपीको पहिलो प्राथमिकता थियो लालमानलाइ समात्ने। सीआरपी आएर हाम्रो स्कूलकै छिमेकमा रहेको तुर्सा दलसिंह क्लब भवनमा डेरा जमाएर बस्यो।