“हो , मैले जघन्य अपराध गरें, अक्षम्य पाप गरें, तर म मजबूर थिएँ। मलाई पछुतो छैन।श्रीमान् कै इच्छा अनुसार मैले त्यो अपराध गरें। “

यो स्वीकारोक्ति हो श्रीमती लुइस शेकल्टनको। उत्तरपूर्वी इङ्ग्ल्याण्डको अत्यन्त सुन्दर प्रदेश मानिने योर्कशायर निवासी लुइस र उनका ५९ वर्षीय श्रीमान् एन्थोनी पच्चीस वर्षदेखि पतिपत्नी थिए, संगै थिए । एन्थोनीको पुराना फर्निचर मरम्मत गर्ने व्यवसाय थियो।
हृष्ट पुष्ट बलिया र कर्मठ एन्थोनी कालान्तरमा गएर मोटरन्यूरोन रोगले ग्रसित भए। स्थायीरूपले अपाङ्ग भए। उनको जीवन कष्टकर भयो , व्यवसाय तहस नहस भयो। श्रीमतीको सहारा बेगर खाना खान, लुगा लाउन , पाइखाना जान, दिसा पिसाब गर्न केही नसक्ने भए। ओच्छ्यानमा थला परिरहे।
उनलाई बाँच्ने इच्छा त थियो तर त्यो भन्दा बढी उनि श्रीमतीको बोझ बन्न चाहान्दैन थिए। उनि मर्न चाहान्थे , तर यो बेलायतमा आत्महत्या गर्दा पनि कानून लाग्छ, मार्नेले सजाय पाउँछ नै। दिन प्रतिदिनको कष्टकर जीवनबाट छुटकारा पाउन गत दुइ सालदेखि विकल्प सोच्नु थाले, श्रीमतीसंग छलफल गर्न थाले।
उनि मर्न चाहान्थे, श्रीमती भने उनलाई सम्झाएर जीवित नै राख्न चाहान्थिन।
एकदिन एन्थोनीले भने – ‘हेर लुइस, न म राम्रो सुन्न सक्छु , न उठ्न सक्छु , न राम्रोसित खान सक्छु, न देख्न सक्छु वरपर। तिमीले मेरो टाउको समाएर नघुमाये म यताउताका दृश्यहरु केही हेर्न पाउँदिन । मेरो सिर, मेरो घांटी स्थिर छ , आफै चलायमान हुदैन। मलाइ मर्न देऊ. “
सर सल्लाह पति पत्नीबीच दुइ सालसम्म चल्यो र अन्तमा लुइस ले एन्थोनीको इच्छालाइ सम्मान गर्दै यो महिनाको शुरुमा स्विट्जर्ल्याण्ड जाने हवाईजहाजमा बसाएर सुटुक्कै ज्यूरीच लगिन्। युरोपमा स्वैच्छिक मृत्यु मर्न चाहनेहरुका लागि ज्युरीचमा DIGNITAS भन्ने संस्था छ जसले आत्महत्या गर्न आउनेहरुलाई सेवा दिन्छ , उनीहरुलाई कुनै पीडा, कुनै दुख केही अनुभव नहुनु दिई उनीहरुलाई मर्ने औषधिको सुईबाट मृत्युवरण गराई दिन्छ। अत्यन्त कष्टकर र अपांग जीवनदेखि छुटकारा पाउन स्वैच्छिक मृत्यु रोज्नेहरू त्यहाँ जाने गर्दछन। स्वीटजरल्याण्डमा त्यो कानूनसम्मत सेवा हो।
.. अनि विदाईको त्यो घडी आयो। उनले कसैलाई भनिन्। हल्ला गरिनन्। केवल परिवारका चारजना सदस्यलाइ मात्र थाहा थियो। चारैजना मिलेर एन्थोनीलाइ जहाजमा चडाये, जहाजभित्र पुगेपछि , दुइजना ओर्लेर घर गए, लुइस र अर्को एकजना एन्थोनीसंगै ज्यूरीच पुगे। ब्रिटेनमा यस्तो गर्नु कानूनी अपराध हो।
DIGNITAS मा सबै बन्दोबस्त तयार थियो, उनीहरु त्यहाँ चार दिन बस्नु पर्यो। अन्तिम दिनसम्म दुवैजना सदा झैं कुराकानी गरिरहे , हाँसीरहे, मजाक गरे। लुइस भन्छिन “चारै दिन एन्थोनीको मूड हँसिलो थियो , उ अत्यन्त खुशी थियो। हामीले पच्चीस वर्षसम्म बिताएका मधुर समयको एक एक पलको स्मरण गर्यौं। “
अनि समय आयो विदाईको, मन भक्कानिएर आयो लुइसको, दुवै अंकमाल गरि रोईरहे धेरै बेर।

त्यसपछि त्यो संस्थाका स्टाफ आएर एन्थोनीलाइ मृत्यु कक्षमा पुर्याए। आफ्नो श्रीमान् ले स्वछिक मृत्यु रोजेकाले उनले प्राण त्याग गरेको दृश्य पनि आफ्नै आँखाले देखिन्। अनि उनि होटेल फर्कियिन। भोलिपल्ट इङ्ग्ल्याण्ड घर आइ पुगिन् र योर्कशायर पुलिसमा गएर आत्म समर्पण गरिन् ।
“म अपराधिनी हूँ. ….मैले जघन्य अपराध गरें, अक्षम्य पाप गरें, तर म मजबूर थिएँ। मलाई पछुतो छैन। कानूनले जे सजाय दिन्छ मलाइ म स्वीकार गर्दछु। “
अहिले लुइस को केसमाथी पुलिसले छानबीन शुरु गरेको छ।
यो काण्ड यस्तो बेला भएको छ – ब्रिटिश पार्लियामेण्टमा ‘इच्छा मृत्यु’ अपनाउन पाउनु पर्ने बारेको कानूनको लागि यौटा विधयेक विचाराधीन छ। बहुमतले House of Commons मा विधेयक त पास भयो तर कानून भने बनेको छैन, विरोध र कानूनी अवरोध उत्तिकै छ। House of Lords ले पारित गर्नु पर्छ। अहिलेसम्म यो Assisted Dying Bill पारित भएको छैन र पक्ष र विपक्षमा घनघोर वैचारिक र कानूनी युद्ध जारी छ।
जे होस् , लुइस र एन्थोनीको २५ वर्षे वैवाहिक जीवनको अन्त यसरी होला भन्ने कसले सोचेको थियो होला र। लुइस भन्छिन् – उनलाई पछुतो छैन किनकि उनले बरु उपकार गरेकी छिन् पतिलाइ निको नहुने रोगबाट सदाका लागि मुक्ति दिलाएर।
यो घटना ताजा हो, मलाइ जस्तै लाखौँलाइ यसले दुखित तुल्याएको छ।
यति बेला मलाइ भने स्वर्गीय फत्तेमान राजभण्डारीले गाउनु भएको यो गीत झल्झली याद आइ रह्यो।
“धेरै लामो बाटो हामी, सँगैसँगै हिडिँसक्यौं
टाढा टाढा कता कता हामी दुबै पुगिसक्यौं
तर अन्त्य यसको यहीँ भन्न अझै मनै भएन
तिम्रो माया मार्नै सकिन्नँ
मर्न बरु गाह्रो हुन्न,
मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिन्नँ “
****
(श्रोत: ब्रिटिश मिडिया, तस्वीरमा लुईस र एन्थोनी)
Ratan Chhetri, London, UK
Leave a Reply