बितेका पल संस्मरण – “बितेका पल” ————————- झन्डै एक सालपछि आज ऊ Whatsapp च्याटमा आयो । “के छ कसो छ” बाट शुरूवातपछि शिकायत गर्यो। “तँ विदेशी म विदेशी, अनलाइन कुरा त गरे हुन्न थियो ?” मेरो प्रत्युत्तर – “तँ विदेशी म विदेशी, फुर्सत पनि हुनु पर्यो नि ।आफ्नो गाउँ जस्तो भए पो दिनभरी गफ गरिबस्नु चौपत्तीमा बसेर “ ऊ हाँस्यो, शायद फिसिक्क – शायद खिसिक्क . तर शाब्दिक कुराकानी थियो, कुनै भिडियो च्याट थिएन । न उसले मेरो अनुहारमा भाव पढ्यो, न मैले उसको। तर अनुभव गरिरह्यौं । “फुर्सतमा चाहिँ के गर्छस्?” उसले सोध्यो । “फुर्सत कत्ति पनि हुदैन, च्याट गर्ने फुर्सत भनेको टोइलेटमा बस्दा, रेलमा यात्रा गर्दै अफिस जाँदा वा राती सुत्दा” , मेरो जवाफ शायद मन परेछ उसलाई । यौटा थम्ब अप गरिदियो । अर्को थप्यो – “कत्ति काम गरेको गरेकै हौ, रिटायर्ड लाइफमा जा न । म पनि घरै जान्छु” तर अफसोस, हाम्रो पुरानो गाउँमा न मेरो घर रह्यो, न उसको । भेट भएछ भने शायद बजारमा या आफन्तकोमा होला। केही त छैन पहिलाको जस्तो गाउँमा। शायद आफ्नो जग्गाको सिमाना पनि भेट्नु हम्मे पर्ला। “अलिक दिन हो, त्यसपछि त लाइफ टिकटक र रील बनाएरै बित्ला” मैले ठोकी दिएँ . अनि मुस्काएँ, शायद ऊ पनि हाँस्यो । हँसिलो इमोजी देखा पर्यो। अनायास उसले भन्यो – ‘ये साँची, यो रील र टिकटक हेर्दा त हामी साह्रो छिटो जन्मेको रैछौँ है ‘ , अनि पठायो अझै ठुलो इमोजी, खित्का छोडेको टाउको . उसको इशारा बुझें । मान्छे ऊ पनि मजस्तै रंगीन मिजाजको न हो । अनि रंगीन कुराहरु गर्यौं, हाँस्यौं – इमोजी साटासाट गरेरै। गम्भीर भएर सोचें – ‘हैट, हो नि, हामी चालीस वर्षपछि जन्मिनु पर्ने थिएछ, यो सोसल मिडिया आएपछि ‘ । फेरी आफैमाथी हाँस उठ्यो । मेरो जिगरी दोस्त हो ऊ. कक्षा १० सम्मै संगै यौटै विद्यालयमा पढेका, यौटै चियाबगानका । ऊ छेत्री लाइनको राणा , म स्टेशन लाइनको छेत्री। उसको घर बगानको शिरमा, हाम्रो पुछारमा। क्या कम्बिनेशन ! बगानको मुन्शीबाउको कान्छा छोरा, स्थानीय आर्थिक मापदण्ड अनुसार उनीहरु धनाड्य । धनी बाउको धनी छोरा नै थियो त्यो . टिफिनमा चौपत्तीको चियादोकानहरुमा उसले चार आना (२५ पैसा) को एक प्लेट घुघुनी भुजिया खान्थ्यो, हामी १० पैसाको । फरक यसरी बुझे हुन्छ हाम्रो औकात । उसले स्कूल ड्रेस टेरीकटन कपडाको लाउथ्यो, म पातलो सुतीको । श्रीकृष्ण र सुदामा जस्ता थियौं हामी, सधै मिल्ने । मेरो झोपडीजस्तो घर (लेबर क्वार्टर) मा आइतवार आइहाल्थ्यो खेल्न, डुल्न जान। म पनि अर्को हप्ता मुन्शीबाउको घर पुग्थें ।उनीहरु साह्रै सहृदयी थिए, मलाइ पनि छोरा जस्तै मान्थे । तर उसलाई पढ्नु भनेपछि जोरो आउने, मलाइ जोश चढ्ने, यतिको फरक चाहिँ थियो । म हरेक साल प्रथम श्रेणीमा उत्तीर्ण हुदा उसलाई मंशीको छोरा भनेर अंक तानतुन पारेर पास गरेको हुनुपर्छ सरहरुले, नत्र चिलिम जस्तै थियो । हामी धेरै मिल्थ्यों, र बेलाबेलामा सिनेमा हेर्न फुन्छोलिंगको दुईवोटा सिनेमाहलमा जान्थ्यौं । टिकट उसले काट्ने हो, मेरोमा त पैसा भा पो। जति नै मिले पनि यौटा कुरामा बिस्तारै हाम्रो खटपट शुरु भएको थियो। भुटानबाट यौटी मुखिया थरकी केटी कक्षा ८ मा भर्ना हुन आई हाम्रो स्कूलमा । हामी कक्षा ९ मा थियौं। संयोगवश उसको र हाम्रो क्लासरुम टाँसिएको थियो, केवल यौटा काठको पार्टिशनले मात्र छुट्याएको। मेरो साथी गोरो, हट्टाकट्टा, सम्भ्रान्त परिवारको, रातो पीरो रानामगर थियो, म चाहिं लिखुरे छेत्री । केटी पनि सम्भ्रान्त परिवारकी थिई, काली काली, गोलो गोलो आँखा वाली, होंची, दुई चुल्ठोमा पहेंलो रिबिन बाँधेकी। हाम्रो स्कूल ड्रेस सेतो कमेज र केटीहरुलाई नीलो फ्रक, केटाहरुलाई नीलो पैण्ट। भुटानबाट एक हूल अरु केटी र केटाहरु पनि बसमा आउंथे पढ्न। हाम्रो स्कूलको चौकीदार दाजुको सानो क्वार्टर अफिस पछाडी थियो। नजिकै यौटा टिनको सानो घर थियो जसभित्र पानीको कल थियो जहाँ हामी अन्जुली थापेर जल पिउंथ्यौं। एकदिन उसको र सरुको जम्काभेट भयो कलमा। उत्ताउली केटीहरु थिए उनीहरु, जानाजान हत्केला तेर्सो पारेर पानीको छिटाले हीराको सर्ट र पेण्ट चिसो बनाइदिई सरुले। साथी क्रुद्ध भयो, रातोपीरो हुदै भन्यो – ‘ म तेरो दाँत झर्ने गरि झापड हान्छु बुझिस् ? ‘ उ के कम, जाइलागी – ‘ लु त, लु त, तेरो हिम्मत हेरुँ झापड हान्ने ? ‘ बडो मुस्किलले मैले सम्झाएँ। चौकीदार दाजु आएर कराए हामीलाई र आफ्नो आफ्नो क्लासतिर लाग्यौं। तर शायद त्यो हुनुपर्ने घट्ना नै थियो। चिनापर्चि राम्रो नभएका ती दुइहरु जहिले पनि भेट्दा एकले अर्कोलाई आँखा तर्ने र बड्बडाउने गर्न थाले। तर पनि कुनै न कुनै कारणले सरु हाम्रो क्लासमा पढ्ने उसको सिनियर साथीहरुलाइ एकछिन भेट्ने निहूले आउन थालेकी थिई। अनि मेरो साथीको पनि हेराइमा नम्रता देखिनु थाल्यो। हाम्रो नज़र बचाएर ऊ पनि सरुलाइ हेर्थ्यो, तर छिट्टो नजर फेरी हाल्थ्यो। केही हप्ता बितेपछि उनीहरु अलिक खुल्न थालेका थिए। सरुले हीराको र हीराले सरुको पारिवारिक पृष्ठभूमि थाहा पाएका थिए। सरुको परिवार कालिम्पोंगबाट भुटान सरेको रहेछ, ऊ हाम्रो स्कूलमा आउनु अघि कालिम्पोंगको गर्ल्स हाई स्कूलमा पढ्द थिई। बुवा सरकारी अफिसर, दिदी इन्दिरा भुटानस्कूलको टिचर, अनि ऊ। स्वच्छन्द प्रकारकी आधुनिकतामा रमाउने टाइपकी थिई सरु। हीरासित खूब जोडी मिल्न थालेछ। त्यसपछि त फुन्चोलिंग कुनै न कुनै बहाना बनाएर जान्थ्यौं। कहिले माथी डांडाको गुम्बामा, त कहिले तुर्साखोला निरको विशाल गुवाबारीमा उनीहरुको भेट हुन्थ्यो, म पनि साथमा हुन्थें । मेरो केही भूमिका थिएन, बस् साथी गैदिएको मात्र। तर पनि बालसुलभ आनी बानी नै थियो, अहिलेको जस्तो विकृति थिएन विपरीत लिंगका साथीहरुमा । यौटा आकर्षण चाहिँ हुन्थ्यो, तर प्रेम नै त होइन होला, किनभने बातचीत खासै सिरियस हुदैन थियो, हेराहेर मात्र, मुस्कान, अनि खानपीन । कस्तो पवित्र समय थियो । एकदिन दुइजना बीच के भयो कोनि, बोलचाल बन्द। स्कूलमा मिस मुखिया पनि मुख फुलाएर बस्ने, एता मेरो छेउमा बस्ने राना पनि उस्तै । सिनियर थियौं, एक कान, दुईकान मैदान भई हाल्यो । अर्थात् राना र मुखियाको नोकझोक र प्रेम दुवैको चर्चा दबिएको स्वरमा सुनिन्थ्यो सिनियर क्लासहरुमा । एकदिन टिफिनको बेलामा क्लास खाली थियो, उ राक्कियेर आई र एक्कासी बर्सियि साथीसित – “तिमीले के सोचेको मलाई ? मेरो फादर को हो थाहा छ?” मेरो पनि सातो उड्यो । साथीले उसलाई आदेश दियो – “तिमी गै हाल, म तिम्रो मुख पनि हेर्न चाहँदिन , जाऊ तिम्रो फादरको तिरै, यो स्कूलको चेयरमेन मेरो फादर हो, थाहा छ के ?” छोराछोरीको लफडा फादरहरुतिर पुगेपछि मैले सम्झाउने प्रयास गरें , केही शान्ति भयो । ऊ आफ्नो क्लासतिर लागी । भोलिपल्ट यौटा पेपर चिट कक्षा ८ र ९ बीचको काठको पार्टिशन मुनिबाट उसले छिराईदिई, साथीको नाममा । लेखिएको थियो – “तिमी भन्दा त रतन दाजु कहाँ हो कहाँ राम्रो रैछ, बेसी घमण्ड नगर्नु, तिम्रो साथी मभन्दा धेरै टाढा छैन ।” हैट, के लेखी छ त्यस्तो । उसले मलाइ कागज देखायो, हुप्प फुलिएर बस्यो । चार बज्यो, क्लास सकियो। ऊ नबोली निस्कियो । म हुर्रिएर चौपत्ती पुगें जहाँ भुटान जाने बस स्टप थियो । उसलाई हकारें – ‘ओइ सरु, त्यस्तो पनि लेख्ने हो ? मेरो नाम फेरी किन बीचमा ? त्यसले तिमीलाई नै मन पराउँछ बुझ्यौ ? त्यो अहंकारी छ, छिटो रिसाउँछ, तिमी त त्यस्ती छैनौ त। ‘ ऊ बोलिन, बस आयो, उनीहरु लागे उत्तरतर्फ । केही दिन बित्यो, साथी चाहिँदो मात्र बोल्नु थाल्यो, हाम्रो घनिष्टता घटेर गयो। सरुले सहपाठी नीरूलाइ भनिछ – त्यो साह्रै घमण्डी मान्छे रैछ, केटा त रतन दाजुजस्तो भए पो। नीरु मेरै घर नजिकबस्थी, बाटोमा खुसुक्क भनिहाली । म मक्ख परिन, बरु डर लाग्यो , लौ अब पर्यो फसाद मलाइ । तर बिडम्बना, हामी १० कक्षामा पुग्दा उसले स्कूल छोडेर गइ। फेरी फर्केर कालिम्पोंग गर्ल्स हाइस्कूलमा कक्षा ९ मा भर्ना भैछ। उनीहरुको मनमुटाव त्यतिकै त्यतिकै थियो। फाइनल परीक्षा सकेपछि एकले अर्कोलाई भेट्ने प्रयास पनि गरेनन् तर जैगाउँ गएको बेला मलाइ एकपल्ट भेटेकी थिई सरुले। अनि सोधेकी थिई – ‘तिम्रो त्यो मोटे राणाको के हाल छ ? मेरो सुर्ताले दुब्लायेन ?’ सम्झें, बेला बेलामा सम्झिन्दी रहिछ उसलाई। केही भनिन मैले। वास्तवमा हीरासित उसको दूरी बढेपछि उ शायद मप्रति आकर्षित हुन थालेकी थिई, तर म बचेर हिन्थे किनकि कहाँ बिल्डिंगमा बस्ने ऊ, कहाँ झोपडीमा बस्ने म। फेरी हाम्रो थर पनि भविष्यको लागि वाधक थियो। एकदिन जैगाउँको मोटरस्ट्याण्डमा भेटें उसलाई – टल्किएका आँखाले हेर्दै सोधी मलाइ – “भनन हौ , तिम्रो मोटे साथी कस्तो छ ? उस्तै घमण्डी छ कि तिमीजस्तो सोझो भयो ? “ मैले भनिदिएँ, “तिम्रो कुरा गर्छ बेलाबेलामा। मलाइ त एकदिन कालिम्पोङ्ग जाउँ हौ भेट्नु भन्दैथियो , मैले भनें, घरै फुन्छोलिंग, आइहाल्छे नि। त्यसपछि उसले सोधेको छैन। “ “होस् हौ, नहुने कुरामा जोड दिनु हुदैन, हाम्रो बाटो अलग हुनु पर्छ।” उसले अलिक निराश भएर भनि। कालिम्पोंगको हावा लागेछ, निकै बुझकी कुरा गरी। राम्री पनि भैछ । आग्रह गरी – “केपीजी रेस्टुरेन्ट जुम् न, मोमो खानु, मेरो इन्दिरा दिदी त्यहीं भर्खर जानु भाको छ, तिमीलाई सोध्दै हुनुहुन्थ्यो। मेरो बोयफ्रेण्ड जस्तो लाग्यो रे ” – चंचल मुस्कान छोडी। छुच्ची सरु। तर म फुत्कें। साथीको पनि माया लाग्यो, मोरोले उसलाइ झुलाई राख्यो, त्यसैले मप्रति ऊ आकर्षित हुन थालिछ। भन्थी – “एक दिन तिम्रो घर देखाउनु लैजाउ न हौ मलाइ ?” अनि म बहाना बनाएर टारी दिन्थें। बर्षौं बितेर गए त्यसपछि, को कहाँ पुग्यो, के भयो, खोज खबर पाउन गाह्रो थियो। सोसल मिडिया थिएन, इन्टरनेट आइपुगेको थिएन। न इमेल, न जिमेल, न च्याट न मोबाइल। तर मेरो साथी हाम्रो कक्षा १० को बोर्ड परीक्षाको रिजल्ट नआउदै थिम्पु गयो। उसको दिदीभेना त्यहाँ थिए, उतै गएर बस्यो। शायद हामी १७ वर्ष पुगीसकेका थियौं। उसले उतै काम पायो रे भनेको सुनें। फेरी बर्सौंपछि म काठमाडौँमा कार्यरत हुँदा अफिसको कामले थिम्पु जानु पर्यो। होटेलमा बसें, ऊ भेट्न आयो, बेस्सरी व्हिस्की पियौं। अनि मलाइ उसको मर्सडिज बेन्जमा चडाएर घर लग्यो, जुन थिम्पु शहरको मध्यभागमा थियो। घरभित्रको सजावट र विलासिताका वस्तुको भरमार देखेर म चकित थिएँ, वा भनौं उसले मलाइ हरेक मिनट चकित पारिरहेको थियो। बडेमानको टीभी सेट, छानामा ठूलो डिश एन्टिना, लामा लामा सोफाहरु, महंगा फर्निचरहरु, आदि। “नमस्ते, रतन दाजु हो ? ” भित्रबाट यौटी अधबैंसे भुटानी (डुक्पेनी) महिला बक्खुमा देखा परिन्। उसले परिचय गरायो। “यही हो मेरी भुटानी श्रीमती, तेरो बारेमा उसलाई सबै थाहा छ। डुक्पेनी हो” – अनि बेस्सरी हाँस्यो। उनि पनि हाँसिन् । मलाइ करेण्ट लागेजस्तो भयो। यस्तो हेन्डसम, क्लासमा सरु जस्ती सुन्दरी मुखियाको बेस्ट चोइस, अनि यस्तो अधेड उमेरकी श्रीमती, त्यो पनि अनेपाली। अघि खाएको व्हिस्कीको राप सबै उडेर गयो। खानपीन फेरी भयो त्यहाँ र राती १२ बजी मलाइ मेरो होटेलमा छोडीदियो। व्हास्स्स गन्हाउने सास ओकलेर भन्यो – ‘भेटिस होइन मेरो वाइफ़लाइ ? शी इज एक्चुअली समवान्स वाइफ़। ” विस्मित भएँ, दुखित पनि भएँ – उसकी श्रीमती त सेकेण्डह्याण्ड पो रहिछ। आज चालिस साल भन्दा बढी भएछ – हाम्रो सम्बन्ध एकपल्ट सरुले गर्दा चिसिएको, तर माया त माया नै हो। मोरोको माया लाग्छ। उ पनि फेसबुकमा जोडियो, व्हाट्सएपमा आयो, अनि हामी पुराना साथीहरु यो उमेरमा के के के के कुराहरु च्याट गर्दै हाँसी रहन्छौं। सरु कालिम्पोंगबाट हायर सेकेण्डरी सकेर पूर्वी भुटानमा गएर टिचर काम गरिछ, उतैको यौटा गुरुङ केटासंग भागेर बिवाह गरिछ। एकदिन उसले मलाइ फेसबुकमा भेटी, साथी बनाइ, हामी फेरी घनिष्ट भयौं। थिम्पुबाट फोन गर्न थाली, ऊ धेरै फ्र्यांक केटी थिई, त्यस्तै रहिछ – आफ्नो जीवन कहानी सुनाउदै एकदिन भनि – “हाम्रो डिभोर्स भाको हो, म छोरा बुहारीसंग बस्छु, उसको कान्छी बुडी छ। ” सुनेर धेरै माया लागेर आयो सरुको। “ला, हो र ? त्यस्तो भएको तिमारको ?” म दुखित हुँदै भने। “मिस्टर, यो भुटान हो भुटान बुझ्यौ ! यहाँ बुडी पनि अर्कोसंग टाप, बुड़ा पनि । ” जिस्किंदै भनि उसले, तर यथार्थ भनेकी रहिछ। त्यो चलन त अझै पनि रहेछ । “अनि तिमी किन टाप नकसी बसेकी त ? ” मेरो प्रश्न। उसले खित्का छोडदै भनी – “तिमीले आफ्नो ठेगाना दिएर गएका थियौ र ?” म नि:शब्द बसी रहें। मैले साथीलाई सबै सुनाएँ, तर उसले सुन्न चाहेन। यौटै शहर थिम्पुमा उनीहरु बस्दछन् आज पनि – दशकौं त्यहीं बिताएका छन् . शहरको मध्यभागबाट बग्ने हिमनदी ‘थिम्पु चू’ खोलाको वारी पारी . मैले एकदिन सरुलाइ सोधें – ‘भएको चाहिं के थियो ? किन एक्कासी तिमीहरु टुटेका, फुटेका ? ‘ उसले यति मात्र भनि – ‘मेरो मिस्टेक भएकोले हो, एकदिन बाझेको बेला मेरो मुखबाट आवेशमा फुस्की हाल्यो – ” तिमीभन्दा मलाइ रतन दाजु धेरै मन पर्छ बुझ्यौ ? ” अनि त्यसपछि उसले इर्श्याले मलाइ घृणा गर्न थालेको हो। ‘ म अवाक बनेको थिएँ। बर्षौंपछि हामी च्याटमा फेरी मजाक गर्न थालेका छौं – ‘ओइ, त्यो सरुको याद आउँछ ?’ अनि उसले पनि त्यही प्रश्न गर्छ मलाइ । अनि हामी सम्झिन्छौँ ती सुनौला दिनहरु, बितेका पलहरु, अनि च्याटमा घन्टौं रमाउंछौं। आज दुवैजनाको सन्हतानहरु ठूला भएर विदेशमा छन् । हामी सबै ओभर-सिक्स्टि छौं, सरु पनि, हीरा पनि, म पनि। *** ***