अनामनगरको अतीत Ratan Chhetri, November 24, 2024November 30, 2024 दोहाको हमद इन्टर्नेशनल एयरपोर्टमा हामी ओर्लिंदा निर्दिष्ट समय भन्दा एकघण्टा विलम्ब भैसकेको थियो। कतार एयरवेज जतिसुकै ठीक समयमा उड्ने फ्लाइट भएपनि काठमाडौँको मौसमले उसको तालिका बेलाबेलामा बिगारिदिन्छ। हामी नेपालबाटै एक घण्टा ढीलो उडेका, त्यसैले लन्दन, पेरिस , अमेरिका , जर्मनीको कनेक्टिङ्ग फ्लाइट धेरैको छुट्यो , मेरो पनि लन्दन जाने फ्लाइट केवल दुइघण्टाको मात्र ट्रान्जिट थियो र समय कम भएकोले हामीलाई अत्यन्त हतार परेको थियो आफ्नो फ्लाइट समात्न। जहिले पनि नेपाली यात्रीहरु खचाखच हुने कतार एयरवेज दोहा पुग्दा त्यहाँको विशाल विमानस्थलमा कैयन नेपालीहरु अलपत्र पर्ने गरेको देखेको छु। यस्तै हस्याङ्ग पस्यांगमा एक जोडी श्रीमान श्रीमती यता उता हतारिएर आफ्नो गन्तव्य गेट खोजी रहेका रहेछन , श्रीमान अलिक चर्को स्वरले करायो – ‘निर्मला, अलिक छिटो आउ न हौ गेटसम्म पुग्नु अझै कता हो कता?’ ‘निर्मला?’ यो नामले म झस्किएँ . को हुन् ती निर्मला ? नेपालबाट यौटै फ्लाइटमा आएकी रहिछन् आफ्नो श्रीमानसंग। जब उनी मेरो नजिक आइपुगिन् – म अवाक् बनें। स्तव्ध बनें। कहिले सोचेको थियिन कुनै दिन काठमाडौँमा संगै ट्रेनिंग गरेकी उनि आज करीब पच्चीसवर्षपछि एक्कासी मेरो सामु देखा पर्छिन् भनेर, त्यो पनि विदेशी भूमिमा। त्यो पनि सास पनि फेर्न नपाईने मुहुर्तमा। हाम्रो आँखा जुझ्यो , उनि पनि अवाक् थियिन् तर विवश थियिन् आफ्नो प्रतिक्रिया प्रकट गर्न, श्रीमान साथमा थिए। श्रीमानले मलाइ सोध्यो – ‘दाई, तपाईं पेरिस जाने हो ?’ कुन गेटमा पुग्नु पर्छ ?’ ‘होइन भाई, म त लन्दन जाने हो’ . फ्लाइटलिस्टको डिस्प्ले बोर्डमा हेर्दै मैले भनें , तपाइहरुको गेट तेत्तिस हो , मेरो पन्द्रह हो।’ ‘अहो, तेत्तिस?, धेरै हिड्नु पर्ने रैछ त्याहाँसम्म पुग्न, धन्यवाद दाइ , ए निर्मला हिड छिटो’ – अनि म किङ्कर्तव्यविमूढ उभिई रहें। एकछिन् बात पनि गर्न पाइन् उनीसित , एकशब्द बोल्न पनि पाइन। उनको पनि आँखामा झिलिक्क केही अनुनय देखा परेको थियो मसित बोल्न खोजेको जस्तो लागेको थियो तर उनको मज्बूरी थियो। विशाल एयरपोर्टभित्र खोला जस्तो सलल बगेका सयौं यात्रीहरुको भीडमा उनीहरु हतार हतार स्केलेटर चढेर विलुप्त भए , मेरो टाउको भने घुमी रह्यो। मलाइ पनि हतार थियो , छिटो छिटो आफ्नो गेट पुगें, गेट खुलिसकेछ , अनि सरासर विमानभित्र पसें। दोहादेखि लन्दनसम्मको साढे सात घन्टा लामो फ्लाइटमा भने निर्मलासितका मेरा सारा अतीतहरु चलचित्र झैं आँखा अघि आउंदै गए , जाँदै आउंदै गए, आउंदै गए, म पिरोलिन्दै गएँ। ****** “निष्ठुरीलाई, नयां वर्ष २०५६ को उपलक्ष्यमा धेरै धेरै शुभकामना र माया छ |“यो वर्ष तिमीमा खुशियाली छाई रहोस्, मुटूभरि मेरो माया रहिरहोस्, सफलताले तिम्रो पाउ चूमी रहोस् आवेश, क्रोध, जिद्दिपन नाश होस्, तिम्रो घर नजिक रहेको मन्दिरकी देउती बजैले तिमीलाई सदबुद्धि दिउन्, मेरो विवशता बुझिदिने शक्ति दिउन्, मलाई क्षमा दिने शक्ति दिउन्, यस्तै यसै शुभकामना छ तिमीलाई यो वर्षकोलागि | बाँकी शुभेच्छाहरु अर्को वर्षलाई साँचेर राखेको छु | “ यी कुराहरु शुभकामना कार्डम़ा लेखी साथमा सानो रातो गुलाफको फूल राखेर खाम बन्द गर्दा मेरो आँखाले पनि दुइ थोपा आँशु कार्डमा खसालेर उनलाई सम्झ्यो | म भावाकूल बनें | भर्खरै बितेर गएको अतीत याद आयो | पोहोर साल पनि मैले यस्तै नयाँ वर्षको शुभकामना कार्ड उनलाई आफ्नै हातले दिएको थिएँ; अनि उनले मुस्काएर त्यो कार्ड स्वीकार गर्दै मलाइ पनि मौखिक शुभकामना दिएकी थिईन् | फरक यत्ति हो, यसपाली उनलाई सो कार्ड स्वयँ दिन सकिन, उनकै साथी वितिकाको सहारा लिनु पर्यो | समय केही अगाडी बढ्यो, तर हप्ता नबित्दै सो कार्ड मैले फिर्ता पाएँ | उनको आशय केही बुझ्न सकिन | मैले चढाएको फूल कार्ड भित्र ओइलिएर मरिसकेको रहेछ | कुनै प्रत्युत्तर पनि थिएन, जस्ताको तेस्तै कार्ड फिर्ता आयो, फेरी पनि वितिकाले नै ल्याएर केही नबोली मलाइ दियी | मसित ‘किन?’ भनेर सोध्ने साहस पनि भएन; शायद कारण मलाई र वितिकालाई थाहा थियो | कति कठोर रहेछ उनको हृदय; शायद मैले गलत व्यक्तिलाई शुभेच्छा चढाएछु | दिनहरु बित्दै गए…सन् १९९८ मा उनी र म काठमाडौँको अनामनगर स्थित नेपाल प्रेस इन्स्टिच्युटमा एकवर्षे पत्रकारिताको तालीम लिंदै थियौं | हाम्रो कक्षा बिहान सात बजेबाट शुरु हुन्थ्यो | दुई घन्टाको क्लासमा हाम्रो प्रतिदिन क्षणिक भेट हुन्थ्यो | म उनलाई हेर्थें, उनी मलाइ, शुरुका दिनहरुमा चिनापर्ची भयो, उनी सुदूर पश्चिम सुर्खेतबाट आएकी, म सुदूरपूर्व झापाबाट | काठमाडौँ हाम्रो कर्मस्थल; म यौटा प्रोजेक्टमा जागिरे, उनी यौटा पत्रिकाको पार्टटाइम रिपोर्टर | उनी क्लासमा पहिलो लहरमा बस्दथिन, म दोश्रोमा, तर उनको ठीक पछाडी, अलिकति कोण मिलाएर, ताकि उनको मुहारमा चोरदृष्टिले हेर्न सकूँ | महिना बिते | कुनै कुनै दिन हामी नै सबेरै सबैभन्दा अघि आइपुग्थ्यौं | उनि नजिकै डेराबाट आउँथिन , म टाढा भैंसेपाटीबाट। सुकोमल दुइ हातहरुले मलाइ नमस्ते गर्थिन् र बन्द गेटको अगाडी केही भलाकुसारी गर्थ्यौं, यता उताका गफ | हाम्रो हेराहेर औपचारिकता नाघेर गहिराइतिर लम्की रह्यो; हाम्रो मनभित्र केही कुराहरु उकुसमुकुस भैरहेका थिए जसलाई हामी एकअर्कालाइ सुनाउन सकी रहेका थिएनौं | मैले बुझिसकेको थिएँ उनी मप्रति आकर्षित भएकी छिन् भनेर | शायद उनलाई पनि भान भएको थियो होला मैले पनि उनलाई मन पराएको छु भनेर | बाधा त केही थिएन आफ्नो भित्री कुराहरु राख्न, तर शायद हामीमा संकोच र नौलो मित्रताको छेकबार थियो कि ? कोहीबेला म ढीलो आउँदा उनी मलाइ नै पर्खी रहेकी जस्ती हुन्थिन्, वा भनौं मलाइ त्यस्तो भान भएको हुनुपर्छ | उनका ठूल्ठूला काला नयनहरु गाजलमा रंगिएका हुन्थे र म कक्षा कोठामा पस्ना साथ हाम्रो नजर चार हुन्थ्यो; हल्का मुस्कान सहित उनको मुहार क्षणभरकालागि देदिप्यमान हुन्थ्यो | अनि उनी ढीलो आउँदा म भित्रभित्रै विचलित हुन्थें उनलाई नदेख्दा | बारम्बार दृष्टि बाहिरतिर डुल्थ्यो उनलाई खोज्दै | कोठामा पस्नासाथ उनको नजरले पनि पहिले मलाइ नै खोज्दथ्यो | यो क्रम चली रह्यो तर मनको गाँठो भने फुकाउन सकिएन | हाम्रो हेराइ मौन प्रेममा परिवर्तित भैसकेको थियो तर उनको भावभंगिमा बुझ्न नसकिने थियो | हाम्रो मौन प्रेमको कुनै रफ्तार थिएन, बोलचाल कमै हुन्थ्यो | हामी अरुसबै सहपाठीहरू कोही बेला हँसीमजाक गर्थ्यौं, क्लास सकिएपछि बाहिर सडकछेउको चियापसलमा गएर चिया पिउथ्यौं ; उनको मिल्ने साथीहरु वितिका, अम्बिका, शोभा सबै आउंथे तर उनी चिया पिउन कहिले आइनन् | मैले एकदिन मौखिक अनुरोध गरें, मानिनन्; सानो टुक्रा कागजमा लेखेर पनि विन्ती गरें, मानिनन् | क्लास सकिएपछि फुंगफुंग चप्पलमा हिडेर उनी डिल्लीबजार घट्टेकुलोतिर लाग्थिन् , त्यहाँ उनको डेरा थियो | सम्झें, कस्ती निष्ठूरी निर्मला | उनको व्यवहार बुझिनसक्नु त छंदैथियो, म किन किन व्याकुल बन्दै गैरहेको थिएँ | एकदिन साहस बटुलेर उनको कापीको कुनामा लेखिदिएँ….”एकदिन ढुङ्गा पनि पग्लिनु पर्छ” | उनले पढिन्, केही प्रतिक्रिया आएन; तर भोलिपल्ट उनी रिसायेजस्ती देखिईन् | एउटा कागजको डल्लो मतिर मिल्काइन् ; टिपेर खोली हेरें, मेरो एकलाइनको बदलामा चारलाइनको हातेबम रहेछ |“मलाइ तपाइंले बाहिरबाट आएकी भनेर हेप्न खोज्नु भएको हो ? साथी साथीबीच मित्रता हुनु राम्रो मानिन्छ तर तपाइंको व्यवहारमा मैले हेपाहा प्रवृति पाएकी छु |” मैले कहिले पनि उनलाई पत्र लेखिन, तर उनको यस्तो सोचाई मलाइ पनि मन परेन | जवाफ पठाउन बाध्य भएँ…. “तपाईंमात्रै बाहिरबाट आएकी होइन, म पनि बाहिरबाटै आएको हूँ | यो काठमाडौँमा अधिकांश मानिसहरु बाहिरबाटै आएका हुन् बुझ्नु भो ? कसैले कसैलाई हेप्ने कुरा आउंदैन् | तपाइंको आज्ञाबिना कापीमा लेखेको कुरामा क्षमा चाहन्छु | गलती भयो, आइन्दा लेख्दिन | “ त्यसपछि केही दिन हाम्रो बोलचाल र हेराहेर समेत बन्द भयो | मेरो चर्को जवाफले उनमा केही उथलपुथल ल्याएको हुनुपर्छ | हिंडदा बाटो तर्किने भैसकेकी उनीमा विस्तारै केही परिवर्तन आएको महशूस गरें | शनै: शनै: उनको मप्रतिको व्यवहारमा सुधार हुदै गयो; अब त जम्काभेटमा जबर्जस्ती मुस्काउने प्रयास पनि गर्न थालिन् | म प्रति उनी आकर्षित छिन् भन्ने कुराको अब मलाइ विश्वास हुनुथाल्यो | म त पहिलेबाटै आकर्षित थिएँ नै | एकदिन काम विशेषले म फिल्डमा जानु पर्ने भयो | दुइ हप्ताको लागि | सरसित छुट्टी लिएँ…तर उनलाई भन्न सकिन | उनकी नजिककी साथी वितिकालाइ मैले भने, “म दुइ हप्तापछि मात्र आउँछु क्लासमा, छुटेको कोर्सको नोट मलाइ पछी दिनु है सार्नलाइ |” मेरो अनुपस्थितिबारे सबैलाई ज्ञात भयो, सो हप्ताको अन्तिम क्लासमा उनले एउटा सानो कागजमा लेखेर मलाई फिल्ड यात्राको र कामको सफलताको शुभकामना दिईन् | म अवाक् बने | भर्खरै लेटरबम मतिर फ्याँक्ने उनीबाट यस्तो आश गरेको थिईन | उनको रूप र स्वभाव नै मलाइ राम्रो लागेकोले म उनी प्रति आकर्षित थिएँ | गोरी पनि होइनन् काली पनि होइनन् ; पहिरन पनि एकदम साधारण; सस्तो खाले कुर्तासुरालमा खुलेको यौवन; पाऊमा दुइ फिते चप्पल; ठूला नयन, त्यसमाथी गाजल मात्र | बस् उनको मेकअप नै त्यत्ति | हार मिलेको मोतीको माला जस्ता दाँत, कुर्लिंग परेको कालो लामो कपाल, शरीरमा न कुनै आभूषण, न कृत्रिम सुन्दरता देखाउने रंगरोगन | यसपालिको असारमा एक्काइसौँ वसन्त पार गरेकी | साधारण लिवासमा पनि उनको अलौकिक बैंस खुलेकै देख्थें म | उनको सरल मुस्कान, पठनमा लगनशीलता र परिश्रम देखेर म अवाक् थिएँ | उनी मेधावी छात्रा थिईन् | उनका दायाँ बायाँ दुइ सखीहरू हुन्थे कक्षामा, शोभा र अम्बिका, तर उनी भन्दा निक्कै भिन्न | राजधानीको आधुनिकतामा रमाएका, सम्पन्नता र फेसनको माहौलमा हुर्किएका ती दुइ युवतीहरु भन्दा उनको अलग्गै रूप र पहिचान थियो तर तीनैजना भने घनिष्ठ सखीहरु | सबै प्रशिक्षकहरु खुलेर उनको प्रशंसा गर्दथे; म भने त्यसै बित्थामा खुशीले गदगद हुन्थें | उनको सीट पछी बसेर म उनलाई चोर नजरले नियाली रहन्थें | उनलाई पनि आभास हुन्थ्यो मेरो हेराइको | मौनताभित्रै हाम्रो चाहना हुर्की रहेको थियो, शायद हामीबीच प्रेमको अंकुर प्रस्फुटित भैसकेको हुनु पर्छ | गुणी त् थिईन् नै, तर उनको केही गुण भनू वा अवगुण, उनी ज्यादै जिद्धि र स्वाभिमानी पनि थिईन् | एकदिन विरल मौकामा मैले प्याच्च भनिदिएँ, “तिमी अभिमानी रहिछौ “ |उनले रिसाएर भनिन् – “म त्यस्ती छैन” |तर किन नहुनु ? बाटोमा एक्लै भेट्दा म ऊसित बोल्न चाहान्थें, उनी भने तर्केर भाग्थिन् | कक्षामा मैले केही दिए पटक्कै नलिने | कोर्सकै सिलसिलामा कोहीबेला हामीलाई सबैको अगाडी उभिएर बोल्नु पनि पर्थ्यो, मेरो पालीमा उनि कि त केही निहूँ लिएर बाहिर जान्थिन्, कि कापीमा घोप्टो परेर सिर निहुर्याई रहन्थिन् | मलाई उनको व्यवहार उदेक लाग्थ्यो | कोही बेला मुसुमुसु हाँस्न खोज्ने, कोही बेला तर्केर हिंड्ने ; उनको यो परिपाटी मैले बुझ्न सकिरहेको थिईन | हिम्मत बटुलेर एकदिन उनकी सखीसित उनको म प्रतिको रुखो व्यवहारबारे कुरा झिकें | वितिकाले भनिन् “दाई, त्यति पनि बुझ्नु भएन ? उ तपाइंलाई औधी मन पराउँछे तर तपाइंलाई तड्पाउनु उसलाई आनन्द आउँछ रे | मलाइ उसले धेरै कुरा भनि सकेकी छे, बधाई छ तपाइंलाई | “ सुनेर कान पनि सन्न भयो | खुशी भनू कि विस्मात् ….वितिकका शब्दहरुले मेरो कानमा धेरै बेर घन्टी बजाई रहे | “उसलाई गलत न सम्झिनुस दाई | तपाईंबारे उसले अझ बढी जान्न चाहेकी छे , तपाइंहरु किन खुलस्त कुरा गर्नुहुन्न एक आपसमा ? “ वितिकाको आग्रह थियो | दिनहरु बित्दै गए | म चाहान्थें कुराको शुरुवात उनीबाटै होस्, तर त्यसो भएन | एकदिन कक्षामा कविता वाचन गर्ने सेसन चल्यो ; तत्काल रच्नु पर्ने र वाचन गर्नु पर्ने ….मैले पनि उनलाई नै लक्षित गरेर एउटा कविता भनें – “भूल हो भने भूल हो मेरो भनिदेऊ, नत्र मेरो मनको कुरा सुनिदेउ किन व्यर्थै तड्पाई रहन्छौ मलाइ, तिम्रो मनमा के छ ? आज भनिदेऊ !” उनी मुस्काइन, मेरो आशय पनि बुझिन् | उनका सखीहरूले पनि मेरो संदेश बुझे | कसैले ठट्टा पनि गरिदियो ….”के हो दुइजनाको बीचमा के चल्दै छ ?” उनी रातो पीरो भईन्, शरमले भन्दा बढी क्रोधले | पढाउने सर पनि मुसुमुसु हासिदिनु भयो | त्यसपछि त झन् हाम्रो के हुन्थ्यो हेराहेर…मलाई नै दोषी ठानिन् उनको बेइज़्ज़ती भयो भनेर तर त्यो कविता जो सुकेकोलागि हुनु सक्थ्यो, मेरो के दोष ? अर्को एकदिन जनसम्पर्क विषय पढाउने सरले सोध्नु भयो हामीलाई – “जनसम्पर्क गर्ने व्यक्तिमा कस्तो गुण हुनुपर्छ ?” | सबैले आआफ्नो धारणा राखे, मेरो पालो आयो, मैले भनें – “अर्काको कुरा ध्यानले सुन्ने र बुझ्ने प्रयाश गर्ने, नझर्किने, नरिसाउने, अरुलाई पनि बोल्ने मौका दिने, आदि | त्यस्तो व्यक्ति सहनशील हुनुपर्छ न् कि जिद्धि र स्वाभिमानी |” केही तालीहरु बजे मेरो समर्थनमा | सरले पनि “गुड” भन्नु भो | वास्तवमा मैले भनेका कुरा ठीक थिए वा थिएनन्, मलाइ मतलब थिएन, मेरो मकसद थियो मभित्र उर्ली रहेको भावनाका छालहरू उनीतिर बगाउने | त्यसैले हरेक शब्दहरुमा जोर दिएर उनको हृदयमा धक्का दिने अभिप्राय थियो मेरो | धेरै हदसम्म सफल पनि भएँ जस्तो लाग्यो | तर आशा विपरीत त्यो दिनको क्लास रमाइलोसंग बित्यो, उनीमा क्रोध थिएन, उनी साथीहरुसित खासखुस गर्दै हाँस्न थालिन् | बल्ल मेरो मनको दीयो बल्यो | हामीवीच सोझो कुराकानी नभए पनि कक्षाको विषयलाई अचानो बनाएर हामीले केही अप्रत्यक्ष वार्तालाप गर्न सक्यौं | समयले कोल्टे फेर्यो या भनौं हाम्रो चाहनाहरु अब मुखारविन्द हुन थाले | बाहिरपट्टिको चिया पसलमा कक्षापछी उनी पनि चिया पिउन आउन थालिन् साथीहरुसित | दुइचार जना साथीहरुसित कोकाकोलाको ठूलो रंगीन छातामुनिको एउटा गोलो टेबुलमा म हुन्थें भने अर्को त्यस्तै टेबुलमा ती केटीहरु हुन्थे | बिभिन्न विषयमा गफ हुन्थ्यो ; अब उनी पनि मसित त्यस्ता विषयहरुमा खुलेर बोल्न थालिन् | उनको बोल्ने तरीका, आफ्नो कुराहरु राख्ने तरीका, र हाँस्ने तरीका मलाइ ज्यादै मन पर्थ्यो | उनी बोल्दा म एकटक उनलाई हेरी रहन्थें…. कोहीबेला आँखा फुकालेर ‘के हेरेको त्यसरी?’ भन्ने भाव पोख्दथिन् र मुख बंग्याएर अप्रसन्नता जनाउथिन् | एकदिन संयोगले एकाबिहानै हामी दुइजना इन्स्टिच्युटअगाडीको चिया पसलमा पुग्यौं | केही बेर यताउताका कुरा गरिसकेपछि उनले भनिन् “म त् यो तालीम सकिएपछि घरै फर्किन्छु, बस्दिन यहाँ | यो राजधानीका मानिसहरु मतलबी हुँदा रहेछन, यहाँका मान्छेहरु मलाइ मन परेनन् | “ शायद यो मप्रतिको अर्को वाण थियो | उनको यो कुराले मेरो मनमा ठेस लाग्यो | मलाइ लाग्यो मेरो परीक्षा लिंदै छिन् | मेरो मनमा हुरी चल्यो | मैले भनें, “के गर्छौ घर गएर | त्यस्तो दुर्गम क्षेत्रमा भन्दा यतै जे काम गरिरहेकी छौ त्यसलाई नै जारी राख, कुनैदिन त यो भन्दा राम्रो काम पाउन सकिन्छ, यो तालीमको प्रमाणपत्रले तिम्रो केही प्रगति हुनुसक्छ, राम्रो अखबारमा अथवा एनजीओमा काम पाउन सक्छौ, मिडियामा राम्रो करियर बन्छ तिम्रो” | हाम्रो दूरी धेरै घटेकोले म ‘तपाईं’ बाट उनलाई ‘तिमी’ भन्न थालेको थिएँ। यी शब्दहरू बाहेक मसित अरु कुनै उपाय थिएन उनलाई रोक्ने प्रयत्न गर्न | मेरो उदास मनस्थिति उनले थाहा पाइन् क्यार, झट्ट भनिन्, “कोहीबेला यहाँ बस्न त मन लाग्छ नि दाई, तर कसले पाल्छ मलाई? “अनि गाडिन् उनको प्रश्नवाचक दृष्टि ममाथी एकटक लगाएर | उनको नजरले मेरो मुहारको मनोदशा अध्ययन गरिरहेको थियो | शायद मेरो प्रत्युत्तरको पर्खाइमा थिईन् उनी | शायद मेरो जवाफ सुन्न उत्सुक थिईन् उनी | त्यतिबेला मेरो मुटु नै चिरिएर आयो | पुलुक्क उनको खाली सिउँदोमा हेरें, मनमनै बर्बरायें ….”काश….यो सिउँदो रंगाउन पाएँ भने म पाल्छु तिमीलाई | म तिम्रो श्रीमान् बन्न चाहन्छु, तिमी मेरी भएर बसी रहू यहीं, मलाइ आजीवन माया गरिराख, यत्ति भए पुग्छ मलाइ | “ तर चाहेर पनि यी कुराहरु भन्न सकिन | समय उपयुक्त थियो, समय सही थियो, समय सुन्दर थियो, तर म कायर बनें | अरुले के सोच्लान् के भन्लान्…..मलाइ मात्र थाहा छ म विवाहित हूँ | के अधिकारले म उनलाई यस्तो प्रस्ताव गर्न सक्छु ? यही कुरा म उनलाई भन्न चाहन्थें, म विवाहित भएर पनि म एक्लो छु यहाँ | मेरी श्रीमतीले मलाई छाडेर अन्तै गैसकेकी छे | मेरा सन्तान पनि जन्मेका थिएनन् । नितान्त एक्लो छु तर अविवाहित होइन | तर उनलाई यी कुरा भन्नु कसरि ? साहस नै जुटेन | शायद उनको नजरमा म एउटा अविवाहित पुरुष हूँ, कन्ये केटो हूँ, तर मलाई डर लागिरहेथ्यो उनी अन्धकारमा छिन्, यो कुरा उनलाई मैले भन्नै पर्छ, म पनि उनलाई सबैकुरा खुलस्त भन्न चाहन्छु, धोका दिन चाहन्न ; तर यस अघि कहिले मौका मिलेन | आज भन्नु पर्छ मैले यी कुरा | तर फेरी समयले साथ दिएन | अरु साथीहरु पनि आई पुगे, अब त क्लास पनि शुरु हुने बेला भो | हामी केही अनुत्तरित प्रश्नहरुको काँडा मनमै गाढेर लाग्यौं कक्षातिर | मेरो व्यक्तिगत् जीवन अत्यन्त दुखदायी छ भनेर उनलाई थाहा छैन, मैले उनलाई मेरो अतीत र बर्तमानबारे सबै कुरा भन्न सकेको थिईन | न समय मिल्यो न उनले कहिले सुन्न चाहिन् | म उनलाई धोका दिन चाहन्नथें | तर म उनलाई आफ्नी पनि बनाउन सक्दिनथें | बढो असमंजस्यताभित्र रुमलिई रहें | आफैलाई मूल्यांकन गर्ने प्रयास गरें, म निकै टाढा पुगिसकेको रहेछु, फर्किने बाटाहरु धेरै पछाडी छुटी सकेका रहेछन् | वितिकासित फेरी एकान्तमा भेट भयो, उसले भनि ….दाई, ऊ प्रस्तावको पर्खाइमा छे …..ढीलो नगर्नुस दाई ….समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ | धेरै नअल्मलिनुस, अब हामी छुट्टिने समय नजिकिंदै छ |”मैले वितिकासित एउटा वचन मागे, “बहिनि….एउटा कुरा भन्छु …कसैलाई नभन्नु …सुनेर न रिसाउनु पनि | वास्तवमा म विवाहित हो …..शायद म उनकोलागि योग्य छुइन | जान अन्जानमा म उनीतिर बढी रहें, अब हामी निकै गहिराइमा डुबी सकेछौं | म फर्कन चाहान्छु पनि चाहन्न पनि | के गरूँ ? “ वितिका पनि अवाक् बनी | अप्रसन्न देखियि | त्यसपछि मैले मेरो जीवनमा घटेका कुराहरु उसलाई सुनाएँ | वितिकाका आँखाहरु रसाएको मैले देखें तर बुझ्न सकिन मेरो विवशता देखेर उनको मन रोएको हो कि मेरो धोकापूर्ण प्रेमको नाटक सम्झेर क्रोधले | साउन आयो, बी-ए-को फाइनल परीक्षा दिनु उनी एक महिने विदा लिएर घर गईन् | उनको घर पांचसय माइल टाढा थियो | जानेबेलामा कुनै ठेगाना समेत मलाइ दियिनन् ; वितिकाले भनि – “एक महीना त हो नि, उसलाई डिस्टर्ब नगर्नु रे ….पत्र सत्र नलेख्नु रे ..ऊ फर्केर आएपछि तपाईं आफै सबै कुरा उसलाई भन्नुहोला; म भन्न सक्दिन |” उनको एक महीनाको अनुपस्थिति मेरोलागि एक वर्ष समान बन्यो | न चिठीपत्र छ, न फोन, न खवर छ …प्रेम गर्नेलाई थाहा हुन्छ विछोडको पीडा | मैले मनमनै अठोट गरें….उनी फर्केर आएपछि म उनलाई सबै कुरा खुलस्त भन्छु | माफी माग्छु अनि विवाहको प्रस्ताव गर्छु | म उनलाई औधी माया गर्छु, म उनलाई पाउन चाहन्छु | तर मनमा खुशीको तरंग भन्दा बढी त्रास थियो ; उनले सबै कुरा सुनेर मलाइ के भन्लिन् ? मलाई तिरस्कार गर्लिन् वा स्वीकार ? प्रतीक्षाको घडी समाप्त भयो, उनी फर्किन् क्लासमा, मेरो हर्षको कुनै सीमा रहेन | धेरै दिनपछि उनलाई देख्न पाउँदा मन एकतमासले रमाई रहेथ्यो | तर मेरो खुशी धेरै टिक्न सकेन, उनले आफ्नो सीट परिवर्तन गरिन् ; मबाट निकै पछाडीको लहरमा बस्न पुगिन्, उनको आँखामा क्रोध थियो, मप्रति खुलस्त तिरस्कार थियो | मेरो मन धेरै डरायो; के भएछ उनलाई ? एक्कासी व्यबहारमा किन यस्तो परिवर्तन ? कसैले केही भने कि ? शायद मिलन हाम्रो भाग्यमा थिएन | दशैको लामो विदा आयो, विदा भएर गयो | त्यसपछि तिहार आयो उनको व्यवहारमा कुनै परिवर्तन आएन; उनी दशैमा पनि तिहारमा पनि घर गइनन् तर पनि हाम्रो दूरी झनै बढेर गयो, म पनि विदामा झापा घर गईन, प्रोजेक्टको अफिसमा सरकारी जस्तो लामो विदा हुदैन …..तिहारपछि हाम्रो तालीम पनि समाप्त भयो , तर अझै हामी तीन महिनाको इन्टर्नशिपमा अनिवार्य जानु पर्ने थियो | म “द काठमाण्डू पोष्ट” र ‘कान्तिपुर ‘ तिर लागें, उनी “आजको समाचारपत्र” तिर | उनको अखबारको कार्यालय न्यूरोडतिर थियो , मेरो अनामनगर। साथीहरु कोही कता कोही कता आ-आफ्नो मिडिया छानेर छुट्टिए इन्टर्नशिपकोलागि | यसरी छुट्टिनु अघि कक्षाको अन्तिम दिनमा मेरो जीवनमा ठूलो भूइंचालो गयो | उनले ब्रेकको समयमा मलाइ बाहिर बोलाइन् ; कठोर मुद्रामा उनले भनिन् “तपाइँसित आज केही कुरा गर्नु छ” | मेरो मुटुको धड्कन बढेर गयो ; केही सम्हालियेर उनको सन्मुख पुगें, मुस्काउने विफल प्रयास गरें | आँखाभरी आँसु, वेदना, आक्रोश र तिरस्कार लिएर मलाई भनिन् “मैले सबै कुरा वितिकाबाट सुनिसकें | तपाइंलाई धेरै धेरै धन्यवाद; समयमै यी कुराहरु भनिदिनु भयो | दाई, खूब चोखो माया लाउनु भयो नि मसित, राम्रैसित टाइम पास गर्नु भो नि मसित | म जस्ती यौटी निरीह निश्छल प्रेमिकालाई धोकामा राखेर के पाउनु भयो तपाइंले ? मेरो हृदयमा यसरी चोट पुर्याएर के हासिल भयो तपाईंलाइ ? के त्यही थियो तपाइंको प्रेमको असली तस्वीर ? धोकेबाज, विस्वासघाती, के मसित यस्तै नाटक गर्नु थियो तपाइंलाई ? “ म चुपचाप उनका शब्दहरु सुनिरहें; मेरो बोल्ने शक्ति पनि थिएन। तीन महीना पछी कक्षा र तालीमको समाप्तिको घोषणासंगै हामीहरु छुट्टीयौं …साथीहरुबीच हात मिलाउने कामहरु भए, ,’तीन महीनापछि फेरी भेटौंला है फाइनल जाँचको बेला’ भन्दै एकअर्कालाई विदा गर्यौं….तर उनलाई त्यतिबेला मैले त्यहाँ कतै देखिन …..वितिका पनि रिसाए जस्ती थिई; ऊ पनि बोलिन, चुपचाप घरतर्फ लागी | गह्रौं मन र गहभरी आँसु लिएर म फर्किएँ | अकास्मात त्यही बेलुकी उनको फोन आयो मेरो घरमा | बिहान भनेका कुराहरु दोहोर्याइन् , मलाई सकेसम्म गाली गरिरहिन् ….बोल्दा बोल्दा उनी धुरुधुरु रोईन्, धेरै बेर रोई रहिन् ….मैले स्पष्टीकरण दिंदै भने….”हेर निर्मला, सत्य कुरा मैले तिमीलाई भन्न खोजेकै हो बेलैमा, तर तिमीले मलाइ कहिले पनि समय दियिनौ | म मेरो प्रेममा अडिग छु, म तिमीलाई औधी माया गर्छु र गरिरहने छु | म तिमीलाई पाउन चाहन्छु | मलाइ बुझ्ने कोशिश गर, मेरो प्रेम स्वीकार गर निर्मला ….| “ उनी झन् विच्कियिन, “भयो भयो…अब त्यस्तो सस्तो डायलग नबोल्नुस् ; आयिन्दा मबाट टाढै बस्नु होला ; तपाइंको र मेरो बाटो आजैबाट अलग भएको छ दाई ; मलाइ पाउने सपना नदेख्नु होला अब | अलविदा दाई |” घड्याम्म फोन बजारिन् ….त्यो हाम्रो अन्तिम वार्ता थियो ….मेरो हार भैसकेको थियो, उनको पनि हार भैसकेको थियो …जीत कसैको पनि भएन | फागुनमा हाम्रो पत्रकारिता कोर्सको एकदिने फाइनल जांच थियो इन्टरनशिप सकिए पछि ; हाम्रो फेरी जम्काभेट भयो हलमा, दुवै नजर फेर्न वाध्य भयौं; बोलचालको कुरै भएन। माथी कौसीमा सबैजना गयौं , ग्रुप फोटोहरु खिच्यौं, जलपान समारोह थियो हाम्रो तर उनले फोटो खिच्न मानिनन्। जांचपछि उनी फेरी आफ्नो जिल्लातिर लागिन् काठमाडौँ सदाकालागि छोडेर | मैले उनलाई रोक्न पनि सकिन, बोलाउन पनि सकिन, विदा पनि गर्न सकिन | थाहै नपाइ वैशाख पनि लागेछ, नयाँ वर्ष आएको छ, सबैतिर खुशियाली छायेकोछ, तर यो नव वर्षले न उनलाई केही ल्याएको छ, न मलाइ | हामी दुइ एकअर्कालाई भुल्ने असफल प्रयास गरिरहेका छौं ….हामी वीचको लामो दूरीले हामीमा वितृष्णा होइन बरु अझ प्रेम बढाएको छ, यस्तो मेरो सोचाई छ | उनि कहाँ छिन, कस्ती छिन्, के गर्दैछिन् जान्नलाई व्याकुल भएर फेरी यो वर्ष पनि शुभकामना पठाएको छु | कार्डभित्र उनलाई मनपर्ने गुलाफका केही फूलहरु राखेर मैले सोधी पठाएको छु …..”मेरो लागि तिमी यदि मरिसकेकी हौ भने मेरो माया, विश्वास, चाहना र श्रद्धाका यी फूलहरु आफ्नै हातले नष्ट गरेर फेरी यो कार्डमा राखेर फिर्ता पठाइदिनु ; यदि मप्रति तिम्रो माया र चाहना अझै जीवितै छन् भने र मैले प्रतिदिन नियाल्ने गरेको तिम्रा ती सुन्दर नयनहरु मेरो सम्झनामा अझै रसाई रहेका छन् भने तिनै आँखाबाट चुहेका सम्झनाका मोतीहरु पत्रमा खसाली पठाइदिनु | मलाई सुनाउने कटु वचनहरु, आक्रोशका भेलहरु अझै रित्तिएका छैनन् भने जलेको मुटुमा पग्लिएका भावनाहरुको खोलो बनाएर मलाइ बगाइदिनु; तर प्रिय निर्मला, कथं कदाचित् तिम्रो मनमन्दिरमा मैले बालेको दीयो निभेको छैन भने त्यसैको मधुरो प्रकाशमा मलाइ खोजिदिनु, म त्यति कतै हराएको हुनेछु, यदि तिम्रो विश्वास डगमगाएको छैन भने म अवश्य भेटिने छु | याद गर….म हरेक पल तिम्रो निम्ति नै बाँची रहेको छु निर्मला, तिमीलाई नै अपलक हेरी रहेको छु |” **** हाम्रो विमान ‘काला सागर’ माथी पुग्दा अचानक हावाको प्रेशर कम भएर होला बिमान जोडसित हल्लियो , ‘टरबुलेन्स हुदैछ , कृपया सीटको पेटी बाँधी राख्नुस्’ भन्ने आवाज आयो स्पीकरमा। झसंग भएँ म, तन्द्राबाट नराम्रोसित ब्यूझिएं। अनामनगरका सारा अतीतहरु छिन्नभिन्न भइदिए। धेरै यात्रीहरु डराई रहेको देखें बिमान हल्लिंदा, तर मेरो त विगत नै हल्लिएर टुक्रिएको थियो उहिले नै, आज दैवसंयोगले पच्चीस बर्षपछि दुइ मिनटमात्र दोहामा देखिएकी निर्मलाले विगतका सारा सम्झनाहरुमा मलाई डुबाएर विदा लियिन् । मेरा आँखाहरु पनि कतिबेला रसाई सकेका रहेछन्। समाप्त Blog
जागें, जागें सारा रातभर June 3, 2024 यहाँ फूलहरू तिम्रै निम्ति फुल्छन् तिम्रो यादहरु आफै बल्झीदिन्छ मुस्कान तिम्रो नयन अघि आउँछ जागें,… Read More